भक्तपुरमा तीन दिने अन्तर नगर जिम्नास्टिक प्रतियोगिता सुरु

Categories:

-

भक्तपुर, चैत २३ — नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले शनिबार भक्तपुर नगरपालिकाद्वारा आयोजित तीन दिने अन्तर नगर जिम्नास्टिक प्रतियोगिताको उद्घाटन गरेका छन्। सहिद स्मृति खेलमैदानमा आयोजित कार्यक्रमबीच उनले पानसमा दीप प्रज्वलन गर्दै प्रतियोगिता सुरु गरेका हुन्।

उक्त अवसरमा अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘खेलकुद स्मारिका—२०८१ ‘ को पनि विमोचन गरे। उद्घाटन समारोहमा उनले जिम्नास्टिकलाई शारीरिक स्फूर्तिदायक र जोखिमपूर्ण खेल भएको उल्लेख गर्दै सुरक्षित खेल्न आग्रह गरे।

कार्यक्रमको सभापतित्व नगर प्रमुख सुनिल प्रजापतिले गरेका थिए। उनले भक्तपुर नगरपालिकाले विद्यालयस्तरमै खेलकुद प्रशिक्षकहरूको व्यवस्था गरी खेल गतिविधिलाई प्रवर्द्धन गर्दै आएको बताए। “स्वस्थ नगर, सबल युवा” भन्ने मूल उद्देश्यसहित नगरले विभिन्न प्रतियोगिता र तालिम सञ्चालन गर्दै आएको प्रजापतिले जानकारी दिए।

नगर उपप्रमुख रजनी जोशीले विद्यार्थीहरूको समग्र विकासमा खेलकुदको भूमिका महत्वपूर्ण हुने बताइन्। प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले अन्तर नगर प्रतियोगिताले नगरबीचको सम्बन्ध विस्तार र अनुभव आदानप्रदानमा टेवा पुर्‍याउने बताए।

नेपाल जिम्नास्टिक संघका महासचिव मुकुन्दराज शर्माले प्रतियोगितालाई राष्ट्रिय स्तरको आकृति दिइएको भन्दै आयोजकलाई धन्यवाद दिए। प्रतियोगितामा १८ महानगर, उपमहानगर र नगरपालिकाका टोली सहभागी छन्।

यसअघि नगरको वडा नं. ९ दत्तात्रयबाट ¥याली निकालिएको थियो, जसमा जनप्रतिनिधि, कर्मचारी, विद्यालयका विद्यार्थी, खेलाडी र स्वयंसेवकहरूको उत्साहजनक सहभागिता देखिएको थियो।

प्रतियोगिताको पहिलो खेल शनिबार दिउँसो २ बजेबाट सहिद स्मृति खेलमैदानमा सुरु भएको हो।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य