ललितपुरमा विपद् व्यवस्थापन तालिम सम्पन्न

Categories:

-

ललितपुर, चैत २३ — ललितपुरमा पत्रकारहरूलाई लक्षित गरी विपद् व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ। गोदावरी नगरपालिका वडा नं. ३ को सहयोग र नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वयमा आयोजित तालिममा विपद् न्यूनीकरणका विविध पक्षहरूबारे प्रशिक्षण दिइएको थियो।

तालिमको प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य उर्मिला लामा थिइन्। उनले भनिन्, “पत्रकार भनेको समाजको ऐना हो। राज्यले पत्रकारको उचित पारिश्रमिक, सेवासुविधा र क्षमता अभिवृद्धिमा लगानी गर्न जरुरी छ।” उनले विपद्को समयमा समाचार संकलन गर्दा पत्रकारले सुरक्षित रहनुपर्ने र यस्ता तालिमले दक्षता अभिवृद्धिमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्।

प्रमुख जिल्ला अधिकारी रमेश ढकालले सबैको साझा दायित्व भएको भन्दै विपद् न्यूनीकरणमा पत्रकारहरूको भूमिकाको प्रशंसा गरे। वडाध्यक्ष सानुराज घिमिरेले विपद्का बेलामा सचेत भएर सूचना सम्प्रेषण गर्न आग्रह गरे।

जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बाढी, पहिरो र प्रदूषणजस्ता चुनौतीबीच पनि पत्रकारितामा सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताए। यस्तै, सशस्त्र प्रहरी बल दक्षिणकाली गण सातदोबाटोका एसपी राजेश लामिछानेले तालिमले पत्रकारलाई विपद्को समयमा प्रभावकारी ढंगले काम गर्न आवश्यक सीप दिने बताए।

नेपाल पत्रकार महासंघ ललितपुर अध्यक्ष रामहरि कार्कीले तालिम विपद् बेला सुरक्षित रिपोर्टिङको उद्देश्यले आयोजना गरिएको बताए। सहभागीलाई पूर्व चेतावनी प्रणाली, स्थानीय विपद् योजना, समावेशी दृष्टिकोण, वित्तीय जोखिम व्यवस्थापन, शिविर समन्वय र लैंगिक समानताको विषयमा जानकारी दिइएको थियो।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य