काठमाडौं, २३ चैत । सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालतको आदेशपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि रास्वपा नेतृत्व खनिएको छ।
पक्राउ टोलीको नेतृत्व गरेका डिएसपी दीपक खड्कामाथि लामिछानेको बेडरुमसम्म पुगेको र ‘अन्तिम इच्छा के हो?’ भनेर सोधेको आरोप लागेपछि यो घटना राजनीतिक तवरमै विवादित बनेको छ।
उच्च अदालत दाङको बुटवल इजलासले शुक्रबार साँझ लामिछानेलाई पुर्पक्षमा पठाउन आदेश दिएको एक घण्टामै, डिएसपी खड्का नेतृत्वको प्रहरी टोली बुढानीलकण्ठस्थित लामिछाने निवास पुगेको थियो। रास्वपाका नेताहरूको आरोप अनुसार, बाहिर बोलाउँदा ननिस्किएको भन्दै टोली घरभित्र छिरेर बेडरुममै पुर्जी पढाएको हो।
सामान्यतया अभियुक्तलाई थुनामा पठाउँदा ‘अन्तिम इच्छा के हो?’ भन्ने प्रश्न नगरिने परम्पराको उल्लंघन भएको भन्दै यस कार्यलाई रास्वपाले अपमानजनक र दमनकारी व्यवहारको रूपमा व्याख्या गरिरहेको छ।
रास्वपाका नेता र कार्यकर्ताले सामाजिक सञ्जालमार्फत डिएसपी खड्काको कडा आलोचना गरिरहेका छन्। कतिपयले यसलाई “राजनीतिक प्रतिशोध” र “चरम लज्जास्पद घटना” भन्दै विरोध गरेका छन्।
डिएसपी दीपक खड्का यसअघि काठमाडौंको सोह्रखुट्टे इलाकामा इन्चार्ज थिए। २०७८ साल जेठमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उनीमाथि छानबिन समिति गठन गरेर पछि टेकुमा सरुवा गरेको रेकर्डहरू पनि पुनः चर्चामा आएका छन्।
यसअघि रुपन्देही जिल्ला अदालतले रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो भने त्यही मुद्दामा संलग्न छविलाल जोशीलाई जेल पठाइएको थियो। तर, उच्च अदालतको आदेशपछि लामिछानेको गिरफ्तारी प्रक्रिया अघि बढाइएको हो।
यस प्रकरणले राजनीतिक र कानुनी बहसलाई थप चर्काएको छ। एकातिर रास्वपा यसलाई बदनियतपूर्ण षड्यन्त्रको संज्ञा दिइरहेछ भने अर्कोतिर कानुनविद्हरूले प्रक्रियामा पारदर्शिता र मर्यादा पालना हुनुपर्ने तर्क गर्दै आएका छन्।


