भैरहवा, २३ चैत । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सोमबारसम्म जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा रहने भएका छन्। शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले उनलाई अदालतमा पेश गर्न नसकिएको प्रहरी स्रोतले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) रञ्जितसिंह राठौरले सञ्चारकर्मीलाई जानकारी दिँदै भने, “दुई दिन सार्वजनिक बिदा भएकाले सोमवारसम्म उहाँ प्रहरी हिरासतमा रहनुहुन्छ। बिदा सकिएलगत्तै अदालतमा पेस गरेर त्यसपछि कारागार पठाउनेछौं।”
रवि लामिछानेमाथि बुटवलको सुप्रिम सहकारीमा करोडौं रकम अपचलनमा संलग्न भएको आरोप लागेको छ। उच्च अदालत तानसेनले उनलाई थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएपछि शुक्रबार साँझ बुढानीलकण्ठस्थित उनको निवासबाट प्रहरीले पक्राउ गरेको थियो।
यसअघि यही प्रकरणमा पक्राउ परेका सुप्रिम सहकारीका अध्यक्ष ओम गुरूङलाई भैरहवा कारागारको ब्लक नं. १ मा र अर्का अभियुक्त छविलाल जोशीलाई ब्लक नं. २ मा राखिएको छ। कारागार स्रोतका अनुसार सोमबारदेखि रवि लामिछाने र छविलाल जोशीलाई एउटै ब्लकमा राख्ने तयारी भइरहेको छ।
स्रोतले भनेको छ, “ओम गुरूङ पहिलेबाटै भैरहवा कारागारको ब्लक नं. १ मा छन्। छविलाल जोशीलाई ब्लक नं. २ मा राखिएको छ। रविजीलाई छविलालको ब्लकमा राख्ने तयारी भइरहेको छ।”
यस घटनाले राजनीतिक क्षेत्रमा बहस सुरु गराएको छ। रास्वपाले यसलाई राजनीतिक षड्यन्त्र भन्दै विरोध जनाउँदै आएको छ भने कानुनविद्हरूले कानुनी प्रक्रियाको पालना अपरिहार्य रहेको टिप्पणी गरेका छन्।


