भक्तपुर, २२ चैत्र । नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गर्दै नगरकोट क्षेत्र पर्यटन विकास समितिको आयोजनामा विशेष छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नगरकोटको सम्भाव्यता, पूर्वाधार विकास, पर्यटकीय सेवा प्रवर्द्धन, र सुरक्षा व्यवस्थाबारे बहस गर्न आयोजना गरिएको हो।
कार्यक्रममा तीनवटा जिल्लाका उच्च सरकारी तथा सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो। भक्तपुरका प्रमुख जिल्ला अधिकारी अधिकारी गोपालप्रसाद अर्याल,काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, र प्रमुख सेनानी, जिल्ला प्रहरी प्रमुख, तथा सशस्त्र प्रहरी प्रमुख (काभ्रे) सहभागी थिए। प्रहरी उपरीक्षक बसुन्धरा खड्का (काभ्रे)ले पर्यटकीय क्षेत्रमा शान्ति सुरक्षा मजबुत बनाउन थप योजना आवश्यक रहेको बताइन्।
भक्तपुर, काभ्रे र काठमाडौं जिल्लाका विभिन्न स्थानीय तहका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिव हुमागाईं (चाँगुनारायण न.पा.), सुरज श्रेष्ठ (मण्डनदेउपुर न.पा.), पोषण लामिछाने (बनेपा न.पा.) लगायत बनेपा, चाँगुनारायण, मण्डनदेउपुर र शंखरापुर नगरपालिकाका वडा अध्यक्ष तथा सदस्यहरू सहभागी थिए।
नेपाल विद्युत प्राधिकरण भक्तपुर, डिभिजन वन कार्यालय काभ्रे तथा भक्तपुर, पुरातत्व विभाग, बनेपा हाइड्रोलोजी कार्यालय लगायतका विभिन्न सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरूले पनि कार्यक्रमलाई उल्लेखनीय समर्थन जनाएका थिए।
कार्यक्रममा भक्तपुर पत्रकार महासंघ अध्यक्ष शुन्दर शिल्पकार,काभ्रे पत्रकार महासंघका विनोदकुमार न्यौपाने तथा काठमाडौंबाट आएका विभिन्न सञ्चार माध्यमका पत्रकारहरू पनि सहभागी थिए। उनीहरूले नगरकोटको पर्यटकीय सम्भावनालाई उजागर गर्दै भ्रमण वर्षको सफलता सुनिश्चित गर्न मिडिया सहयोगको प्रतिबद्धता जनाए।
नगरकोट क्षेत्र पर्यटन विकास समितिका पदाधिकारीहरू, पर्यटन व्यवसायी, होटल सञ्चालक तथा स्थानीयवासीहरूको समेत उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा समन्वय, पूर्वतयारी र प्रचारप्रसारमा जोड दिइएको थियो। सहभागीहरूले भ्रमण वर्ष २०८२ सफल पार्न सरकार, स्थानीय तह, व्यवसायी र नागरिक सबैले आ-आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।



