गोकर्णेश्वर नगर साहित्य पुरस्कार २०८१ त्रिपाठी र चालिसेलाई प्रदान गरिने

Categories:

-

काठमाडौं, चैत्र २२ । गोकर्णेश्वर नगरपालिकाले यस वर्षको गोकर्णेश्वर नगर साहित्य पुरस्कार २०८१ प्रा. डा. वासुदेव त्रिपाठी र विजय चालिसेलाई प्रदान गर्ने घोषणा गरेको छ। नेपाली भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै नगरपालिकाले उनीहरूलाई सम्मान गर्न लागेको हो।

पुरस्कार छनोट समितिका सदस्य गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ र बाजुराम पौडेलको सिफारिसमा उक्त निर्णय गरिएको हो। साहित्य क्षेत्रका प्रतिष्ठित नाम मानिने त्रिपाठी शैक्षिक र बौद्धिक योगदानका लागि चर्चित छन् भने चालिसे कविता, गीत र गजल विधामा सक्रिय सशक्त स्रष्टा मानिन्छन्।

पुरस्कार वितरण समारोह चैत्र २२ गते शुक्रबार दिउँसो १ बजे त्रिवेणी ब्याङ्क्वेट, गोकर्णेश्वर–८, बेँसीगाउँ, काठमाडौंमा आयोजना गरिनेछ। समारोहमा दुवै स्रष्टालाई दोसल्ला, फूलमाला, अभिनन्दनपत्रसहित जनही १ लाख रुपैयाँ नगद प्रदान गरिने नगरपालिकाले जानकारी दिएको छ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाको सहयोगमा प्रकाशित तीन बृहत् ग्रन्थहरूको लोकार्पणसमेत गरिनेछ। यसअघि २०८० सालमा प्रा. डा. ऋषिराम पोखरेल र वरिष्ठ कवि तथा गीतकार कञ्चन पुडासैनीलाई सोही पुरस्कारद्वारा सम्मान गरिएको थियो।

गोकर्णेश्वर नगरपालिका शिक्षा, स्वास्थ्य, साहित्य, संस्कृति, पूर्वाधार विकास र खेलकुद लगायतका क्षेत्रमा सक्रिय छ। साहित्यको सम्मानमार्फत नगरले स्रजनशीलतालाई प्रोत्साहन गर्दै समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्य राखेको बताइएको छ।

स्थानीय तहबाट यस्ता पुरस्कारले सिर्जनात्मक अभियानलाई टेवा दिने विश्वास गरिएको छ। नगरपालिकाको यो प्रयास अन्य स्थानीय तहका लागि पनि उदाहरणीय हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य