आशिष गुरागाई /काठमाडौं, २२ चैत । करिब पाँच महिनापछि पार्टी कार्यालय फर्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टी संरचनामा व्यापक हेरफेर गर्ने तयारी थालेका छन्। चैत १८ गते पुनः सभापतिमा फर्किएपछि उनले केन्द्रीय बैठकमै संरचना सुदृढ पार्नुपर्ने धारणा राखेका थिए। पार्टीको हालको संरचना अन्य दलको तुलनामा सानो भए पनि लामिछानेले अझ सशक्त र चलायमान बनाउनुपर्ने बताएका छन्।
रास्वपाको विधानअनुसार १२१ सदस्यीय केन्द्रीय समिति बनाइनुपर्ने भए पनि हाल ६५ मात्र छन्। गठन भएको तीन वर्ष पनि नपुगेको पार्टीमा गम्भीर विवाद, गुटबन्दी वा नेतृत्व द्वन्द्व छैन। तर, लामिछानेले नेतृत्वमा राजनीतिक चेत भएका व्यक्तिहरूको अभाव महसुस गरेका छन्। पार्टीमा ‘अभियन्ता’ शैलीका नेता धेरै भए पनि ‘राजनीतिक चरित्र’ भएका व्यक्तिको खाँचो महसुस गरेको बताइएको छ।
लामिछानेका पछिल्ला कदमहरू अप्रत्याशित र रहस्यमय लाग्ने खालका छन्। केही दिनअघि अदालतमा उपस्थित भएका बेला उनले ‘क्रान्तिका लागि तयार रहनू’ भन्ने अभिव्यक्ति दिएका थिए। तर, पार्टीभित्रका नेताहरूले त्यसको स्पष्ट व्याख्या दिन सकेनन्। कतिपय नेताहरूले उनलाई आफूअनुकूलको टिम बनाउन चाहेको बताएका छन्।
पाँच महिनाअघि सहकारी ठगीसम्बन्धी मुद्दामा पक्राउ परेपछि लामिछानेले पार्टीबाट ठोस साथ र आन्दोलनको अपेक्षा गरेका थिए। तर, नेतृत्व तहबाट अपेक्षाकृत सक्रियता नदेखिएको भन्दै उनी निराश बनेको स्रोत बताउँछ। हिरासतमा रहँदा नै उनले नेताहरूलाई आन्दोलन चर्काउन संकेत दिएका थिए, तर त्यो पूर्ण रूपमा कार्यान्वयन हुन सकेन। यही असन्तोषले उनले केन्द्रीय समिति र तल्लो तहमा पुनर्संरचना आवश्यक ठानेका हुन्।
रास्वपाले वैशाख अन्तिम साता महाधिवेशन गर्ने तयारी गरेको छ। यही अवसरमा लामिछानेले वडादेखि केन्द्रीय तहसम्मको संरचना फेरबदल गर्ने योजना बनाएका छन्। उनका अनुसार फरक–फरक तहमा फरक कार्यकाल तोकिनु संगठनलाई चलायमान बनाउन जरुरी छ। अहिलेको संरचनाले नेतृत्व विकास नहुने भएकोले नयाँ प्रणाली आवश्यक रहेको उनी निकट नेताहरू बताउँछन्।
यद्यपि, केन्द्रीय सदस्यहरूबीच पुनर्संरचनाको खाका स्पष्ट छैन। केही नेताहरूले सामान्य हेरफेर मात्रै हुने अपेक्षा गरेका छन्। तर, लामिछानेको शैली हेर्दा उनले पार्टीमा आफ्नो पकड मजबुत पार्ने गरी गहिरो परिवर्तन गर्ने संकेत देखिएको छ।


