ललितपुर,२० चैत्र । नेपाल पत्रकार महासंघ उपत्यका प्रेदेश अन्तर्गत ललितपुर जिल्ला शाखाले पत्रकारिता क्षेत्रलाई अझ प्रभावकारी बनाउन ‘विपद् पत्रकारिता तालिम’ आयोजना गर्ने भएको छ। तालिम आगामी २०८१ साल चैत २२ गते शुक्रबार ललितपुरको महालक्ष्मीस्थानस्थित रिभाइभ लेजर पार्कमा सञ्चालन हुनेछ।
पत्रकार महासंघ ललितपुर शाखाका अनुसार तालिममा महासंघमा आबद्ध सदस्यहरू तथा ललितपुर जिल्लामा क्रियाशील पत्रकारहरूको सहभागिता रहने छ । विहान ८ बजे सुरु हुने उक्त तालिममा विपद्का बेलामा सूचना संकलन, प्रसारण तथा आपत्कालीन परिस्थितिमा पत्रकारहरूको भूमिकाबारे विशेष प्रशिक्षण दिइनेछ।
महासंघ ललितपुरका अध्यक्षका अनुसार नेपाल प्राकृतिक प्रकोप तथा विपद्को जोखिमयुक्त मुलुक भएकाले पत्रकारहरूले विपद्को समयमा सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्न दक्ष हुनु आवश्यक छ। त्यही कारण तालिम आयोजना गरिएको हो।
तालिममा विपद् व्यवस्थापन विज्ञ, अनुभवी पत्रकार तथा संचारकर्मीले प्रशिक्षण दिनेछन्। सहभागीहरूले विपद्को समयमा समाचार संकलन गर्दा अपनाउनुपर्ने सुरक्षाका उपाय, सत्यता जाँच्ने विधिहरू तथा प्रभावकारी पत्रकारिताका तौरतरिका सिक्नेछन्।
नेपाल पत्रकार महासंघ ललितपुर शाखाले सम्पूर्ण सदस्य तथा क्रियाशील पत्रकारहरूलाई तालिममा समयमै उपस्थित हुन आग्रह गरेको छ। आयोजकका अनुसार यो तालिम पत्रकारहरूको दक्षता अभिवृद्धि गर्ने महत्त्वपूर्ण अवसर हुनेछ।


