काठमाडौँ, २० चैत । केही दिनअघि भएको विरोध प्रदर्शनका क्रममा स्टेजमै अश्रुग्यास प्रहार गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। तर, प्रहरीले उक्त भिडियो “डिपफेक” भएको दाबी गरेको छ।
प्रहरीका अनुसार उक्त भिडियो प्रविधिमार्फत तोडमोड गरी सार्वजनिक गरिएको हो। प्रहरी प्रवक्ता दिनेशकुमार आचार्य ले एक पत्रकार सम्मेलन गर्दै भने, “हामीले भिडियोको फरेन्सिक परीक्षण गरिरहेका छौँ। प्रारम्भिक अनुसन्धानमा यो भिडियो एडिट गरिएको देखिएको छ।”
विरोध प्रदर्शनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गरेको भन्दै आलोचना भइरहेका बेला भिडियोलाई तोडमोड गरी गलत सन्देश प्रवाह गरिएको प्रहरीको दाबी छ। सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियोलाई लिएर केही व्यक्तिहरूले प्रहरीलाई दोषारोपण गर्दै आन्दोलनकारीमाथि दमन भएको आरोप लगाएका थिए।
तर, प्रहरी स्रोतका अनुसार, “उक्त स्थानमा अश्रुग्यास प्रहार गरिएको नै थिएन। भिडियो प्रविधिमार्फत सिर्जित हो। वास्तविक तथ्यहरू बाहिर ल्याउन अनुसन्धान जारी छ।”
यस घटनाले सामाजिक सञ्जालमा फैलिरहेका सामग्रीहरूको विश्वसनीयताबारे बहस सिर्जना गरेको छ। कतिपयले “डिपफेक प्रविधि प्रयोग गरी गलत सूचना फैलाउने” क्रम बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्। प्रहरीको अनुसन्धानपछि थप विवरण आउने जनाइएको छ।


