टोखामा फेला परेको २५ करोड बराबरको डलर र युरोको मालिक पहिचान

Categories:

-

काठमाडौं, २० चैत। काठमाडौंको टोखास्थित झोरमा ट्रकबाट बरामद गरिएको २५ करोड बराबरको अमेरिकी डलर र युरोको मालिक पहिचान खुलेको छ। प्रहरी अनुसन्धानबाट उक्त रकम सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेलको भएको खुलेको हो।

गत चैत ४ गते राति प्रहरी टोलीले टोखामा ना ७ ख १६५२ नम्बरको ट्रकबाट ठूलो परिमाणको विदेशी मुद्रा बरामद गरेको थियो। उक्त ट्रकका चालक, सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामालाई प्रहरीले पक्राउ गरेको थियो। लामाले ट्रकको चालक सिट पछाडि फल्स बटम बनाएर रकम लुकाएर लैजाँदै गर्दा पक्राउ परेका थिए।

प्रहरीले लामाको बैंक खाताको विवरण जाँच्दा अस्वभाविक आर्थिक कारोबार फेला परेको जनाएको छ। प्रहरीको सीडीआर (कल डिटेल रेकर्ड) विश्लेषणबाट पक्राउ परेका लामाले अन्तिम पटक नारायण पौडेलसँग सम्पर्क गरेको प्रमाण भेटिएको छ। सोही आधारमा अदालतबाट पौडेलविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ।

अनुसन्धानका क्रममा प्रहरीले पौडेलको घर, कारोबार स्थल, र गोदाममा खानतलासी गरेको छ। सो क्रममा केही महत्वपूर्ण प्रमाणहरू बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ। साथै, ट्रक विभिन्न ग्यारेज, पार्किङ स्थल, र गोदाममा गएको देखिएको छ, जसको विस्तृत छानबिन भइरहेको छ।

यस प्रकरणमा प्रहरीले सीसीटीभी फुटेज, डिजिटल डिभाइसको विश्लेषण गर्दै अनुसन्धानलाई थप अघि बढाएको छ। प्रहरीले पौडेललाई पक्राउ गरी विस्तृत सोधपुछ गर्ने तयारी गरिरहेको छ।

विदेशी मुद्राको यस्तो ठूलो परिमाणमा बरामद हुनु नेपालमा वित्तीय अपराध र मुद्रा अपचलनसँग सम्बन्धित आपराधिक गिरोह सक्रिय रहेको संकेत हुन सक्छ। प्रहरीले घटनाको गहिराइमा पुगेर मुख्य योजनाकारसम्म पुग्न सक्नेछ कि भन्ने चासो बढेको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य