काठमाडौं, १९ चैत । सरकारले आज मध्यराति १२ बजेपछि संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। गएराति बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको प्रस्ताव पारित गरेको हो।
आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले संसद अधिवेशन अन्त्यबारे औपचारिक जानकारी गराउने छन्। सभामुख घिमिरे अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५०औं महासभामा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै करिब दुई साताका लागि उज्बेकिस्तान जाँदै छन्।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओली आज दिउँसो १:३० बजे थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्दै छन्। उनले भोलि एक दिन औपचारिक भ्रमण गरेपछि बिमस्टेक (BIMSTEC) सम्मेलनमा भाग लिने कार्यक्रम छ। प्रधानमन्त्री थाइ एअरवेजको उडान नम्बर टिजी ३२० बाट बैंकक जाँदै छन्।
प्रधानमन्त्रीको उडानलाई सुरक्षित बनाउन दिउँसो १:०५ देखि १:३५ बजेसम्म काठमाडौं वरपरको हवाई आकाशमा अन्य उडान प्रतिबन्ध (नोटाम) जारी गरिएको छ। ओली फर्कने शनिबारको दिन पनि काठमाडौंमा उनको उडान अवतरणअघि सवा १२ बजेदेखि पौने १ बजेसम्म उही व्यवस्था लागू गरिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।
प्रधानमन्त्रीसँगै टोलीमा परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा, मुख्य सचिव एकनारायण अर्याल, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल र युवराज खतिवडा, पूर्वमन्त्री एनपी साउद, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, तथा प्रतिनिधिसभा सदस्य राजकिशोर यादवसमेत सहभागी हुनेछन्।


