पूर्वराजा ज्ञानेन्द्रको सेवा सुविधा खोस्ने देखि राहदानी रद्द गर्ने तयारीमा सरकार

Categories:

-

काठमाडौं,१६ चैत्र । सरकारले हिंसात्मक आन्दोलन भड्काएको आरोपमा पूर्वराजा ज्ञानेन्द्र शाहको सेवा सुविधा खोस्ने र राहदानी रद्द गर्ने तयारी गरेको छ। दुर्गा प्रसाईंको नेतृत्वमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनपछि अनुसन्धान गर्दै यो कदम चाल्न लागिएको उच्च सरकारी स्रोतले जनाएको छ।

गृहमन्त्रालयका एक अधिकारीका अनुसार सरकारले पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा आन्दोलन भएको निष्कर्ष निकालेको छ। “विदेश भाग्ने सम्भावनाका कारण राहदानी रद्द गर्ने प्रक्रिया अघि बढाइएको छ,” अधिकारीले बताए।

शुक्रबार राति बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूले हिंसात्मक घटनामा संलग्नलाई कडा कारबाही गर्न, पूर्वराजालाई देशबाहिर जान रोक लगाउन र उनले पाउँदै आएको सबै सुविधा खोस्न प्रस्ताव गरेका थिए।

दुई जनाको मृत्यु, अरबौंको क्षति

शुक्रबार तीनकुने क्षेत्रमा भएको प्रदर्शन हिंसात्मक बनेपछि एक पत्रकारसहित दुई जनाको ज्यान गएको छ। सञ्चारकर्मी सुरेश रजकको आगजनीमा परेर मृत्यु भएको छ भने सविन महर्जन प्रहरीको गोली लागेर मारिएका छन्। झडपमा सुरक्षाकर्मीसहित दर्जनौँ व्यक्ति घाइते भएका छन्। हिंसात्मक घटनामा अर्बौंको निजी तथा सार्वजनिक सम्पत्ति ध्वस्त भएको छ।

प्रदर्शनकारीले ट्राफिक बिट तोडफोड गरे, माओवादी केन्द्रको मुख्यालयमा मोटरसाइकल जलाए, नेकपा एकीकृत समाजवादीको कार्यालयमा आगजनी गरे, कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा लुटपाट गरे, र जडीबुटी उत्पादन तथा प्रसोधन कम्पनीका आठ गाडी जलाए।

दुर्गा प्रसाईंविरुद्ध संगठित अपराधको मुद्दा

शुक्रबारको घटनामा दुर्गा प्रसाईंले सुरक्षाकर्मीमाथि गाडी चलाएर आक्रमण गरेको आरोप लागेको छ। भिडलाई उक्साएको प्रमाण जुटेपछि उनलाई संगठित अपराध, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवको मुद्दा चलाइनेछ।

सरकारले हिंसात्मक आन्दोलन भड्काउनेहरूलाई कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिएको छ। शनिबार बिहानैदेखि प्रहरीले प्रमाण संकलन गर्दै अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य