पत्रकार महासंघद्वारा विरोध सभा, स्थापना दिवसका कार्यक्रम स्थगित

Categories:

-

काठमाडौं,१६ चैत्र । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पत्रकार सुरेश रजकको हत्या तथा सञ्चारगृहमा गरिएको आगजनीविरुद्ध कडा विरोध जनाएको छ। महासंघले शनिबार बिहान काठमाडौंमा विरोध सभा गर्दै यस घटनाको भर्त्सना गरेको हो।

शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी समूहले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि पत्रकार सुरेश रजक जिउँदै जलेर निधन भएका थिए। आन्दोलनकारीले सञ्चारमाध्यममाथि समेत आक्रमण गर्दै प्रेस स्वतन्त्रतामाथि धावा बोलेका थिए।

पत्रकार महासंघले यस घटनाको विरोधमा आफ्नो ६९औं स्थापना दिवसका सबै कार्यक्रम स्थगित गर्दै विरोध सभा आयोजना गरेको महासंघका महासचिव रामप्रसाद दाहालले जानकारी दिए। महासंघले सरकारले प्रेस स्वतन्त्रताको रक्षा गर्न आवश्यक कदम चाल्नुपर्ने र दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेको छ।

विरोध सभामा पत्रकार, नागरिक समाज, मानवअधिकारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो। महासंघले पत्रकार सुरेश रजकलाई शहीद घोषणा गर्न र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

प्रेस स्वतन्त्रतामाथि हमला कुनै पनि हालतमा स्वीकार्य नहुने बताउँदै महासंघले पत्रकारिताको सुरक्षाका लागि सशक्त पहल गर्ने प्रतिबद्धता जनाएको छ। महासंघले नेपालभरिका पत्रकारलाई एकजुट भएर प्रेस स्वतन्त्रताको रक्षाका लागि आवाज उठाउन आह्वान गरेको छ।

यसैबीच, महासंघले प्रहरी प्रशासनलाई घटनामा गम्भीर लापरवाही गरेको आरोप लगाउँदै निष्पक्ष छानबिन गर्न माग गरेको छ। पत्रकार महासंघले दोषीलाई उन्मुक्ति दिन नहुने र प्रेस स्वतन्त्रताको रक्षा गर्न सरकारलाई दबाब दिने जनाएको छ।

पत्रकार सुरेश रजकको आत्माको चिरशान्तिका लागि विरोध सभामा सहभागीहरूले मौन धारण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य