काठमाडौं,१६ चैत्र । राजधानीको तीनकुनेमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा एभिन्युज टिभीका क्यामरापर्सन सुरेश रजकको जलेर मृत्यु हुनु अघि नै उनी कोठाभित्र थुनिएको खुलासा भएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक एउटा भिडियोमा देखिएअनुसार आन्दोलनकारीहरूले सुरेश रजकलाई तोडफोड र लुटपाट गरेपछि चेनगेटमा ताला लगाएर कोठाभित्र थुनेका थिए। उक्त भिडियोमा कोठाभित्रकै त्रासदीपूर्ण दृश्य देखिन्छ, जहाँ रजक आफ्नो मोबाइल चलाइरहेका छन्, बाहिरपट्टि भने ठूलो ताल्चा झुण्डिएको छ।
आफू थुनिएको महसुस गरेपछि रजकले मोबाइलबाट कसैलाई सम्पर्क गर्न खोजेको देखिन्छ। उनले खिडकीको फुटेको सिसाबाट बाहिर भइरहेको आन्दोलनको दृश्य कैद गरेका थिए। यस्तै, उनले कोठाभित्र भइरहेको तोडफोडको भिडियो खिचेका कारण आक्रोशित आन्दोलनकारीहरूले उनलाई जबरजस्ती थुनेको आशंका गरिएको छ।
उक्त कोठाभित्र रजक थुनिएको बेला दुई युवती भर्याङबाट ओर्लिएका देखिन्छन्। तीमध्ये एक जनाको अनुहार देखिन्छ भने अर्कीले स्कार्फले अनुहार छोपेकी छन्। उनीहरू ओर्लिँदै गर्दा तल्लो तलामा भयानक आगलागी भइरहेको देखिन्छ।
प्रहरीले समयमा उद्धार नगरेको आरोप
रजक कोठाभित्रै थुनिएको जानकारी प्रहरीलाई दिइएको भए पनि प्रहरीले उद्धार नगरेको आरोप एभिन्युज टिभीका सञ्चालक भाष्करराज राजकर्णिकारले लगाएका छन्।
पत्रकारको यस निर्मम हत्यामा संलग्न दोषीहरूलाई कडा कानुनी कारबाही गर्नुपर्ने माग गर्दै पत्रकार महासंघलगायतका संगठनहरूले विरोध प्रदर्शन गरिरहेका छन्।


