काठमाडौं , १६ चैत्र । राजधानीको तीनकुनेमा शुक्रबार राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरासहित पाँच जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मिश्र, जबरा, स्वागत नेपालसहित पाँच जनालाई काठमाडौंबाट पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार उनीहरूलाई राति नै काठमाडौं प्रहरी परिसरको जिम्मा लगाइएको छ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार उनीहरूविरुद्ध कुन-कुन मुद्दा दर्ता गर्ने भन्ने विषयमा छलफल भइरहेको छ। यसबारे सरकारी वकिल र महान्यायाधीवक्ताको कार्यालयसँग समन्वय गरेर कानुनी प्रक्रिया अगाडि बढाइनेछ।
तीनकुनेमा भएको हिंसा राजनीतिक प्रकृतिको भएकाले पक्राउ परेकाहरूलाई कुन कानुनी कारबाही अघि बढाउने भन्ने टुंगो लाग्न बाँकी छ। शनिबार अदालत बन्द रहेकाले उनीहरूलाई आइतबार अदालतमा उपस्थित गराइ म्याद थप गर्ने तयारी भइरहेको छ।
प्रहरीले आवश्यक अनुसन्धानका लागि उनीहरूलाई २५ दिनसम्म हिरासतमा राख्न सक्ने कानुनी व्यवस्था रहेको छ।


