काठमाडौँ,१६ चैत्र । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षामा सहभागी परीक्षार्थीहरूलाई निश्चिन्त रूपमा परीक्षा दिने वातावरण सुनिश्चित गर्न सबै पक्षसँग आग्रह गरेको छ।
मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाद्वारा शुक्रबार साँझ जारी गरिएको विज्ञप्तिमा परीक्षा जस्तो संवेदनशील शैक्षिक गतिविधिलाई शान्तिपूर्ण रूपमा सञ्चालन गर्न देशभरका नागरिकको कर्तव्य रहेको उल्लेख छ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षामा ५ लाख १४ हजार ७१ विद्यार्थी सहभागी छन्। साथै, विभिन्न विश्वविद्यालयका अध्ययन संस्थान तथा संकायहरूबाट हजारौँ विद्यार्थी स्नातक तहका परीक्षामा सामेल भइरहेका छन्।
मन्त्रालयले परीक्षालाई निर्वाध सञ्चालन गराउन सबै सम्बन्धित निकाय, शिक्षण संस्था, शिक्षक समुदाय, अभिभावक तथा आम समुदायलाई सहकार्य गर्न आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, “लाखौँ विद्यार्थीको अधिकारलाई सुरक्षित गर्न सहज वातावरण बनाइदिन सबै पक्षको जिम्मेवारी छ।”
सरकारले परीक्षाको मर्यादा कायम गर्न र कुनै अवरोध सिर्जना हुन नदिन सुरक्षा निकायलाई विशेष सतर्कता अपनाउन निर्देशन दिएको छ।


