काठमाडौँ,१६ चैत्र । काठमाडौं जिल्ला प्रशासन कार्यालयले तीनकुने क्षेत्रमा जारी कर्फ्यु आदेश आज बिहानदेखि स्थगित गरेको छ। शुक्रबार बेलुका हिंसात्मक झडपपछि लगाइएको कर्फ्यु शनिबार बिहान ७ बजेसम्म लम्ब्याइएको थियो, तर अहिले प्रशासनले कर्फ्यु हटाउने निर्णय गरेको हो।
प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम बानेश्वर, गौशाला, एयरपोर्ट, कोटेश्वर, जडीबुटी, बालकुमारी, शंखमुल र नयाँ बानेश्वर क्षेत्रलाई समेट्दै कर्फ्यु आदेश जारी गरेको थियो। हिंसा र अशान्ति रोक्न गरिएको यो आदेश अब हटाइएपछि जनजीवन सामान्य हुने आशा गरिएको छ।
प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र हिंसात्मक घटनालाई मध्यनजर गर्दै सुरक्षा निकायहरू भने अझै सतर्क अवस्थामा रहेका छन्। प्रशासनले नागरिकलाई संयम अपनाउन आग्रह गर्दै शान्ति सुरक्षा कायम गर्न सबै पक्षलाई सहयोग गर्न अपील गरेको छ।


