काठमाडौं, १५ चैत्र । राजधानीको तीनकुनेमा शुक्रबार आयोजित राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेपछि उत्पन्न घटनाक्रमबारे छलफल गर्न मन्त्रिपरिषद बैठक सुरू भएको छ। आकस्मिक रूपमा बोलाइएको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।
यसअघि, सुरक्षा परिषद बैठक बसेर त्यसपछि मन्त्रिपरिषद बैठक सुरू गरिएको एक मन्त्रीले जानकारी दिएका छन्। राति ८ बजे बस्ने भनिएको बैठक करिब दुई घन्टा ढिलो गरी १० बजेतिर सुरू भएको हो।
काठमाडौंमा हिंसा चर्किएपछि सरकारले स्थिति नियन्त्रणमा लिन कर्फ्युको समय थप गरिसकेको छ। बैठकमा कर्फ्यु आदेश, प्रदर्शनकारीको गतिविधि, सुरक्षाकर्मीको रणनीति र समग्र अवस्थाका बारेमा छलफल भइरहेको बताइएको छ।
सरकारले हिंसात्मक गतिविधि नियन्त्रण गर्न थप कडा कदम चाल्न सक्ने अनुमान गरिएको छ। स्रोतका अनुसार, सार्वजनिक सम्पत्तिमा आक्रमण गर्ने, प्रहरीसँग झडप गर्ने, तथा तोडफोड र आगजनीमा संलग्नहरूमाथि कडा कारबाहीको तयारी भइरहेको छ।
सरकारको औपचारिक निर्णय केही समयमै आउने अपेक्षा गरिएको छ।


