काठमाडौंमा कर्फ्युको समय थपियो

Categories:

-

काठमाडौं,१५ चैत्र । काठमाडौं जिल्ला प्रशासनले कर्फ्युको समय थपेको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार, काठमाडौं उपत्यकामा जारी कर्फ्यु अब भोलि (शनिबार) बिहान ७ बजेसम्म लागु रहनेछ। कर्फ्युको समय थप्ने निर्णय राजावादी समर्थकहरूको प्रदर्शन उग्र बनेपछि गरिएको हो।

यसअघि, प्रशासनले तीनकुने क्षेत्रसहित काठमाडौंका केही स्थानमा कर्फ्यु आदेश जारी गरेको थियो। प्रशासनले शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थान तोकेर कर्फ्यु आदेश जारी गरेको थियो। यसमा, कर्फ्यु राति १० बजेसम्म लागु हुने निर्णय गरिएको थियो। कर्फ्यु आदेश अघि प्रहरीले माइकिङ गरेर जनतालाई सचेत गराउने प्रयास गरेको थियो।

तर, कर्फ्युको आदेश जारी भए पनि प्रदर्शनकारीहरूले काठमाडौंका विभिन्न स्थानमा हिंसात्मक गतिविधि जारी राखेका छन्। प्रदर्शनकारीहरूले तोडफोड र आगजनीका घटना मच्चाएका छन्। प्रदर्शनकारहरूले केही सरकारी र निजी भवनहरूमा आगो लगाएको र सार्वजनिक स्थलहरूमा तोडफोड गरेको उल्लेख गरिएको छ। यस घटनाले काठमाडौंमा अराजक अवस्था सिर्जना गरेको छ।

प्रशासन र सुरक्षा बलले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्, तर प्रदर्शनकारीहरूको आक्रोश अझै कम भएको छैन। कर्फ्यु आदेशको उल्लंघन गर्दै प्रदर्शनकारीहरूले सुरक्षा बलसँग झडप गरेका छन्। यसरी प्रशासनले कर्फ्युको समय थपेर र माइकिङ गरेर जनतालाई सचेत गराउने प्रयास गरिरहेको भए पनि राजधानीको शान्ति र सुरक्षा कायम राख्न चुनौति नै रहेको छ।

प्रमुख जिल्ला अधिकारी तिवारीले भने, “कर्फ्युको समय थप्ने निर्णय शान्ति र सुरक्षा कायम राख्नका लागि लिइएको हो।” काठमाडौंका विभिन्न स्थानमा प्रहरीको गस्ती कडा गरिएको छ, र प्रशासनले अझै कर्फ्यु आदेश उल्लंघन गर्नेहरूलाई कडा कदम चाल्ने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य