गर्भवती श्रीमतीको हत्या गरी डोजरले पुरेका श्रीमान् १५ दिनपछि पक्राउ

Categories:

-

इलाम,१५ चैत्र । इलामको फाकफोकथुम गाउँपालिका-३ की २४ वर्षीया विमला लुइँटेलको हत्या आरोपमा उनका श्रीमान् उमेश गिरी पक्राउ परेका छन्। प्रहरीले १५ दिनसम्मको खोजबिनपछि गिरीलाई नियन्त्रणमा लिएको हो।

विमला फागुन २९ गते रातिदेखि हराएकी थिइन्। परिवारले उनको खोजी गर्दै आएका थिए। उमेश गिरीले वैदेशिक रोजगारीका लागि काठमाडौं जाने बताएका थिए, तर इलाममै रहेको जानकारी पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले हत्या गरी डोजरले पुरेको स्वीकारेका थिए।

गिरीको बयानका आधारमा प्रहरीले फाकफोकथुम-२ स्थित धार्ने खोपको बाटोमा खनतलास गर्दा करिब चार फिट गहिरो खाल्डोमा विमलाको शव फेला परेको इलाम प्रहरी तथा वडाध्यक्ष याम पौडेलले जानकारी दिए।

डाक्टरले विमलालाई चैत १८ गते बच्चा जन्मने समय दिएका थिए। उनका परिवारका अनुसार सासू कुमारी गिरीले फागुन २३ गते बिर्तामोडको बजरङ्ग मेडिकलमा विमलाको गर्भ जाँच गराएर ल्याएकी थिइन्।

हत्या पश्चात गिरीले श्रीमतीको मोबाइल प्रयोग गरी परिवारलाई ‘इटहरीको एक जनासँग विवाह गरेर भारत गइसकेकी छु, मलाई नखोज्नु’ भन्दै म्यासेज पठाएका थिए।

प्रहरी अनुसन्धानअनुसार, फागुन २९ गते राति घरबाट विमलालाई बाहिर ल्याएर नजिकै पुगेपछि गिरीले उनको कन्चटमा हिर्काएका थिए। छटपटाउन थालेपछि घाँटी थिचेर हत्या गरेपछि उनले आफ्नै जेसिबी प्रयोग गरी शव पुरेको स्वीकारेका छन्।

हाल गिरी प्रहरी हिरासतमा छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य