काठमाडौं,१५ चैत्र । व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा आयोजित विरोध कार्यक्रममा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसहित विभिन्न क्षेत्रमा सक्रिय ३२ जनाले ऐक्यबद्धता जनाएका छन्।
खनाल, जो पछिल्लो आम निर्वाचनमा एमालेका तर्फबाट काठमाडौं-६ र तनहुँबाट प्रतिनिधि सभा उम्मेदवार थिए उनले कार्यक्रमप्रति समर्थन जनाएका हुन्। उनिसहित नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणा, विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी तथा चर्चित अभिनेत्री मनिषा कोइरालाले पनि प्रसाईंको कार्यक्रममा ऐक्यबद्धता जनाएका छन्।
पत्रकार टीकाराम यात्री र जीवराम भण्डारीले पनि समर्थन व्यक्त गर्दै वर्तमान सत्ताको गतिविधिले निषेधको प्रवृत्ति झल्काएको आरोप लगाएका छन्। उनीहरूले प्रजातान्त्रिक व्यवस्थामा कुनै पनि किसिमको निषेध स्वीकार्य नहुने उल्लेख गरेका छन्।
समर्थन जनाउने व्यक्तिहरूले राज्यसत्ता र त्यसको नेतृत्वमा रहेका व्यक्तिहरूको क्रियाकलापप्रति असन्तुष्टि जनाउँदै परिस्थितिलाई नियन्त्रणबाहिर लैजान खोजेको आरोप लगाएका छन्। उनीहरूले सरकारलाई जनभावना बुझेर अघि बढ्न आग्रह गरेका छन्।
यसअघि पनि प्रसाईं विभिन्न विरोध कार्यक्रममार्फत सरकारविरुद्ध आक्रामक बन्दै आएका थिए। उनका केही गतिविधि विवादास्पद ठहरिए पनि विभिन्न व्यक्तिहरूले उनलाई समर्थन जनाउँदै आएका छन्।
यस विरोध कार्यक्रममा विभिन्न क्षेत्रका अन्य प्रतिष्ठित व्यक्तिहरूको सहभागिता रहन सक्ने अनुमान गरिएको छ। विरोध प्रदर्शनका कारण राजधानीको विभिन्न भागमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले कुनै पनि अप्रिय घटना हुन नदिनका लागि विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको जनाएको छ। सुरक्षा निकायले कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन प्रदर्शन क्षेत्रको निगरानी बढाएको छ।


