रूपन्देहीमा प्रहरी नायब निरीक्षक ३० हजार घुससहित पक्राउ

Categories:

-

काठमाडौँ,१५ चैत्र । रूपन्देहीको हाटीबनगाई (दुर्गौलिया) प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) खिमबहादुर खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ।

बिहीबार दिउँसो भन्सार छली तथा चोरी तस्करी गर्न सहजीकरण गर्ने भन्दै घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जनाएको छ।

बुटवल कार्यालय प्रमुख विनिता भट्टराईका अनुसार, खड्कालाई रूपन्देहीको मर्चवार क्षेत्रस्थित मायादेवी गाउँपालिका–६, मकरीचोकबाट नियन्त्रणमा लिइएको हो। पक्राउ परेका खड्का हाल हाटीबनगाई (दुर्गौलिया) प्रहरी चौकीका प्रमुख रहेका छन्।

अख्तियारका अनुसार, घुस प्रकरणमा थप अनुसन्धान भइरहेको छ। नेपाल प्रहरीभित्रै घुस र अनियमितताको घटनाले सुरक्षाकर्मीप्रति जनविश्वास प्रभावित गर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य