काठमाडौँ,१५ चैत्र । काठमाडौंमा आज लोकतन्त्र पक्षधर र राजावादी समूहका छुट्टाछुट्टै प्रदर्शनलाई व्यवस्थित गर्न करिब ६ हजार सुरक्षाकर्मी खटाइने भएको छ। साथै, ट्राफिक व्यवस्थापनका लागि ८ सय ट्राफिक प्रहरी परिचालन गरिनेछ।
काठमाडौं उपत्यकामा हुने यी प्रदर्शनका कारण सडकमा गम्भीर सवारी जाम हुने सम्भावना छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विशेष गरी तीनकुने, भृकुटीमण्डप, रत्नपार्क, डिल्लीबजार, पुतलीसडक, बागबजार, गौशाला, कोटेश्वर, र बानेश्वर क्षेत्रको सवारी आवागमन प्रभावित हुनेछ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार, सुरक्षाका लागि उपत्यकामा ६ हजार सुरक्षाकर्मी परिचालन गरिनेछ भने एसपी अपिलराज बोहोराको नेतृत्वमा उपत्यका प्रहरी कार्यालय रानीपोखरीले निगरानी गर्नेछ। साथै, प्रहरी प्रधान कार्यालयबाट मद्दती फौजसमेत तैनाथ गरिनेछ।
राजावादीहरूले अपाच्य गतिविधि गर्न सक्ने आशंकामा विमानस्थल सुरक्षा गार्ड र सशस्त्र प्रहरी बललाई विशेष सतर्कतामा राखिएको छ। प्रहरीले दुवै पक्षलाई एकआपसमा आमनेसामने हुन नदिन छुट्टाछुट्टै रुट तोकेको छ।
लोकतन्त्र पक्षधर समाजवादी मोर्चाले रिङरोडभित्रबाट र्याली निकाल्नेछ भने राजावादी समूहले चक्रपथबाहिरबाट जुलुस निकाल्नेछ। भृकुटीमण्डपमा गणतन्त्रवादी प्रदर्शन ११ बजे सुरु हुनेछ भने तीनकुनेमा राजावादी प्रदर्शन १ बजे हुनेछ।
यातायात सहज बनाउन ट्राफिक प्रहरीले विभिन्न स्थानमा सवारी डाइभर्सन गर्नेछ। र्यालीको क्रममा ट्राफिक व्यवस्थापनका लागि १ हजार ८०० ट्राफिक प्रहरी खटाइने जनाइएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालका अनुसार, ‘प्रहरीले दुवै पक्षलाई एस्कोर्टिङ गर्नेछ, ताकि उनीहरू आमनेसामने नआउन्।’
प्रदर्शनस्थलसम्म पुग्न छुट्टाछुट्टै मार्ग तोकिएको छ। समाजवादी मोर्चाको र्याली चार दलका छुट्टाछुट्टै जुलुसका साथ प्रदर्शनीमार्गमा पुग्नेछ। सुरक्षाका लागि गस्ती र पेट्रोलिङसमेत कडा पारिएको छ।
आजको प्रदर्शनले काठमाडौंको जनजीवन प्रभावित गर्ने देखिन्छ, जसका लागि यात्रुहरूले वैकल्पिक मार्ग अपनाउनुपर्ने हुन सक्छ।


