राजावादी र माओवादी उस्तै हुन्: शंकर पोखरेल

-

काठमाडौं, १३ चैत्र । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादीले तत्कालीन राजा र भारतीय समर्थनमा सशस्त्र द्वन्द्व सञ्चालन गरेको आरोप लगाएका छन्। राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित स्वयंसेवक भेलालाई सम्बोधन गर्दै उनले माओवादी नेताहरूले जतिसुकै बलिदानपूर्ण संघर्ष गरेको दाबी गरे पनि हालका घटनाक्रमहरूले उनीहरूको वास्तविकता उजागर गरिरहेको बताए।

उनका अनुसार सशस्त्र द्वन्द्वका समयमा माओवादीलाई सहयोग गर्ने शक्तिहरू नै अहिले उनीहरूको वास्तविकता बाहिर ल्याइरहेका छन्। उनले एमालेले हिंसात्मक गतिविधिलाई शान्तिपूर्ण राजनीतिक प्रक्रियामा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै भने, “हामीले ४५० कार्यकर्ता गुमायौं, तर विचलित नभई १२ बुँदे सहमतिका माध्यमबाट माओवादीलाई शान्ति प्रक्रियामा ल्यायौं।”

महासचिव पोखरेलका अनुसार एकै समयमा हिंसात्मक र शान्तिपूर्ण आन्दोलन सफल हुन सक्दैन। उनले माओवादीले हिंसात्मक आन्दोलन त्यागेपछि मात्र २०६२/६३ को जनआन्दोलन सफल भएको दाबी गरे। शान्तिपछि माओवादीको अराजकता रोक्न एमालेको युवा संगठनले महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ।

उनले माओवादीले सत्ता कब्जा गर्न चाहेको तर असफल भएको उल्लेख गर्दै अहिले राजावादीहरू पनि त्यही बाटो पछ्याउन खोजेको बताए। उनका अनुसार, राजावादीहरूलाई वैधानिक बाटोमा ल्याउन जरुरी छ, जसका लागि युवाहरू एकजुट हुनुपर्छ।

राजतन्त्रको पक्षमा फैलिइरहेका भ्रमप्रति सचेत रहन आग्रह गर्दै उनले गणतन्त्र स्थापनापछि नेपालले आर्थिक, सामाजिक, र सांस्कृतिक क्षेत्रमा उल्लेखनीय प्रगति गरेको तर्क गरे। “देशको स्थिरता र विकासका लागि अब नयाँ सोच र योजनासहित अघि बढ्नुपर्छ,” उनले भने।

उनले दक्षिणपन्थी अराजक प्रवृत्तिहरूलाई परास्त गर्न र सामाजिक स्थायित्व कायम गर्न आवश्यक रहेको बताए। राजावादीहरू मोटरसाइकल र्‍याली निकालेर शक्ति प्रदर्शन गरिरहेको उल्लेख गर्दै उनले एमालेद्वारा चैत १८ गते आयोजना गरिने मोटरसाइकल र्‍याली हेर्न आमन्त्रण गरे।

पोखरेलले माओवादीलाई हिंसात्मक राजनीति त्यागेर लोकतान्त्रिक प्रक्रियामा समाहित हुन सुझाव दिएका छन्। उनका अनुसार, नेपाललाई स्थायित्व र समृद्धितर्फ अघि बढाउन विधि र प्रणालीलाई सबैले प्राथमिकता दिनुपर्छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य