नवलपरासी,४ चैत्र । मलेसियामा ११ महिनाअघि हत्या गरिएकी नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका–४ की तिलमाया सार्कीको शव आज नेपाल ल्याइँदै छ।
गत वैशाख २९ गते रोजगारीका लागि गएकी २५ वर्षीया तिलमायाको पाकिस्तानी नागरिकद्वारा हत्या भएपछि परिवारले शव झिकाउन पहल गरे पनि ढिलाइ भएको थियो। श्रीमान्सँग सम्बन्धविच्छेद गरेपछि छ वर्षीया छोरीलाई आमा धनमाया सार्कीसँग छोडेर मलेसिया गएकी तिलमायाको शव ल्याउन लामो समय लागेको हो।
शव झिकाउनका लागि ७० वर्षीया आमा धनमायाले विभिन्न निकाय धाइरहे पनि मलेसियाले अनुसन्धान नसकिएको भन्दै पठाउन ढिलाइ गरेको थियो। सञ्चारमाध्यमले खबर प्रकाशन गरेपछि यो विषय प्राथमिकतामा आएको सुरक्षित आप्रवासन केन्द्र (सामी परियोजना) की परामर्शदाता रञ्जना लम्सालले बताइन्।
लामो प्रयासपछि तिलमायाको शव बोकेको विमान सोमबार दिउँसो १२:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ। शव बुझ्न तिलमायाकी दिदी नीलमाया सार्की काठमाडौं पुगिसकेकी छिन्।
शव ल्याउने खर्च मलेसियन कम्पनीले बेहोर्नेछ भने काठमाडौँबाट माइतीघर नवलपरासीसम्म वैदेशिक रोजगार बोर्डको निःशुल्क शववाहन प्रयोग गरिनेछ। शव साँझसम्म कावासोती–४ हसौरामा आइपुग्ने लम्सालले जनाइन्।
वैदेशिक रोजगार बोर्डका अनुसार मृत्यु भएको एक वर्षभित्र परिवारले आर्थिक सहायता पाउन निवेदन दिनुपर्ने नियम छ। तिलमायाको परिवारले निवेदन दिइसकेको छ भने बाँकी कागजात शवसँगै आउने भएकाले पछि बुझाइनेछ।
११ महिनासम्म छोरीको शव नआउँदा वृद्ध आमा र नाबालिका छोरीले धेरै दुःख खेप्नुपरेको थियो। अन्ततः तिलमायाको परिवारले शव प्राप्त गर्न लागेको छ।


