नेपालमा भारतीय प्रहरीको बिना अनुमति छापा: सात प्रहरी पक्राउ, डीएसपीको सरुवा

Categories:

-

काठमाडौँ,३ चैत्र । २०७९ साल असोज ३ गते काठमाडौंको गोठाटारमा  गार्मेन्ट व्यवसायी लाल मोहम्मदको हत्यामा संलग्न भारतीय शार्प शूटर गुड्डु पटेललाई नेपाल प्रहरीले टोखाबाट नियन्त्रणमा लिएको जनाएको छ। तर, विश्वसनीय स्रोतका अनुसार पटेललाई भारतबाटै समातेर नेपाल ल्याइएको दाबी गरिएको छ। उच्च तहको समन्वयका कारण नेपालमा गोली हानेर पक्राउ गरिएको नाटक मञ्चन गरिएको स्रोतले खुलाएको छ।

नेपाल प्रहरीले आइतबार टोखाबाट पक्राउ गरिएको भन्दै तीन राउन्ड गोली चलाइएको विवरण सार्वजनिक गरेको छ। यसअघि पक्राउ परेका चार जना अभियुक्तसँगको सोधपुछपछि पटेल नै हत्याका मुख्य दोषी भएको निष्कर्ष निकालिएको थियो। स्रोतका अनुसार पटेल भारतको जेलमा थिए तर भारतीय खुफिया एजेन्सीले उनलाई नेपाल पठाएको थियो। उनी सरकारी खर्चमा नेपाल आएर हत्या गरेर फर्किएका थिए, तर भारतकै समन्वयमा नेपाल प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

गुड्डु पटेल भारतकै अर्का अपराधी बब्लु भनिने गणेश पासवानको समूहमा थिए। बब्लु वैशाख १६ गते वीरगञ्ज महानगरपालिका–१६ भुटनदेवीबाट पक्राउ परेका थिए। प्रहरी स्रोतका अनुसार उनलाई पनि गोली हानेर पक्राउ गरिएको विवरण सार्वजनिक गरिएको थियो। यसअघि, २०७९ असोज १४ मा तीन जना पक्राउ परेका थिए।

पक्राउ पर्नेहरूमा:

  • २१ वर्षीय मोहर्रम मियाँ (वीरगञ्ज–१६)
  • १९ वर्षीय रेहान मियाँ (वीरगञ्ज–१५)
  • २१ वर्षीया सुमी उर्फ सुष्मिता स्याङ्तान (मकवानपुर बकैया गाउँपालिका–१, हाल काठमाडौँको कपन)

यी अपराधी भारतीय प्रहरीको निगरानीमा भए पनि जेलभित्रैबाट गिरोह सञ्चालन गरिरहेका बब्लु श्रीवास्तव समूहका सदस्य रहेको खुलेको छ।

नेपाल प्रवेश गरेका भारतीय प्रहरी टोली पक्राउ

एकातर्फ भारतका अपराधी नेपाल प्रहरीको नियन्त्रणमा परिरहेका छन् भने अर्कोतर्फ काठमाडौँमा अपराधी समात्न आएका सात जना भारतीय प्रहरी नै नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूले नेपाल प्रहरीलाई जानकारी नदिई  छापा मारेको सूचना विशेष ब्युरोसम्म पुगेपछि प्रहरीले तिनीहरूलाई पक्राउ गरेको थियो।

पक्राउ पर्ने भारतीय प्रहरीहरू:

  • विक्रमजित सिंह
  • सुरेन्द्रजित सिंह
  • वीरेन्द्रजित सिंह
  • पुष्पेन्द्र सिंह
  • गगनदीप सिंह
  • रविन्द्रप्रताप सिंह
  • मनीष सिंह

यी प्रहरीहरू लमजुङका डीएसपी निशान्त श्रीवास्तवसँग सम्पर्कमा रहेको खुलेको छ।फागुन ११ गते दिउँसो राजधानीको नागार्जुनस्थित एक रेष्टुरेन्टमा भारतीय प्रहरी टोलीले खानतलासी गरेको थियो । नेपाल प्रहरीको जानकारीबिना भारतीय प्रहरी टोलीले कारबाही थाल्न खोजेपछि फागुन ११ गते काठमाडौँका सबै नाका बन्द गरेर उनीहरूलाई नियन्त्रणमा लिइएको थियो।

नेपाल प्रहरीले उनीहरूलाई हिरासतमा राखेर फागुन १२ गते भारतीय दूतावासलाई बुझाएको हो। सोही प्रकरणमा डीएसपी श्रीवास्तवलाई लमजुङबाट प्रहरी प्रधान कार्यालय तानिएको छ भने उनको ठाउँमा डीएसपी रेशम बोहरा काजमा पठाइएका छन्।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य