बाँकेको जयेन्दु बाल सुधारगृहमा झडप, ५० भन्दा बढी बालबन्दी नियन्त्रणमा

Categories:

-

नेपालगन्ज, २ चैत । बाँकेको डुडुवास्थित जयेन्दु बाल सुधारगृहमा शुक्रबार राति बालबन्दीबीच झडप हुँदा ६ भन्दा बढी घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन पुगेको प्रहरीले शनिबार सुधारगृहलाई आफ्नो नियन्त्रणमा लिएको छ।

बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सुधारगृहभित्र प्रवेश गरेर नियन्त्रणमा लिन सफल भएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार झडपका क्रममा बालबन्दीहरूले ढुंगा प्रहार गर्दा केही प्रहरी घाइते भएका छन्। ५० भन्दा बढी बालबन्दीलाई नियन्त्रणमा लिइएको छ।

झडपपछि सुधारगृहका बालबन्दीहरूले प्रहरीमाथि छतबाट ढुंगा प्रहार गर्दै भित्र पस्न रोक लगाएका थिए। दोस्रो तल्लामा आगजनीसमेत गरी क्षति पुर्‍याएको प्रहरीको भनाइ छ। आगो निभाउन पुगेको दमकललाई समेत रोकिएको थियो। पटक–पटक वार्ताका लागि आग्रह गर्दा पनि बालबन्दीहरू नमान्दा प्रहरीले बल प्रयोग गरी सुधारगृह नियन्त्रणमा लिनु परेको एसपी कार्कीले जानकारी दिए।

यसअघि राति डेढ बजे प्रहरी टोलीले घाइते बालबन्दीहरूको उद्धार गरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका लागि पठाएको थियो। प्रहरीका अनुसार केही बालबन्दी भागेका छन्, जसको खोजी जारी छ।

सुधारगृहमा करीब २५० बालबन्दी रहेका छन्, जहाँ बेला–बेलामा झडप भइरहने गरेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य