नगरकोट–काठमाडौँ सिधा बस सेवा सञ्चालन, यात्रु उत्साहित

Categories:

-

भक्तपुर,२ चैत्र  – नगरकोटबाट काठमाडौँ आउन अब कमलविनायक झर्नुपर्ने बाध्यता अन्त्य भएको छ। नगरकोटबाट रत्नपार्कसम्म सिधा सार्वजनिक बस सेवा सञ्चालन भएपछि यात्रुहरू हर्षित भएका छन्।

नगरकोट–काठमाडौँ सिधा बस सेवाको शुभारम्भ गर्दै चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले यो सेवाले नगरकोट भ्रमण वर्ष–२०८२ सफल बनाउन सहयोग गर्ने बताए। उनले भने, “आगामी वैशाख १ गतेबाट नगरकोट भ्रमण वर्ष सुरु गर्दैछौं। ठिक एक महिना अगाडि नगरकोट–काठमाडौँ सिधा बस सेवा सुरु गरेका छौँ, जसले यात्रुहरूको समय र खर्च बचत हुनेछ।”

यसअघि नगरकोट जान काठमाडौँबाट कमलविनायकसम्म एउटा बस चढ्नुपर्ने, त्यसपछि अर्को बस चढेर नगरकोट पुग्नुपर्ने बाध्यता थियो। अब यात्रुहरू एकै बसमा नगरकोट र काठमाडौँबीच यात्रा गर्न पाउनेछन्। उत्तर पूर्वी यातायात प्रा.लि. र ख्वप भक्तपुर मिनिबस यातायात प्रा.लि.को संयुक्त सहकार्यमा बस सेवा सञ्चालन गरिएको हो।

चाँगुनारायण नगरपालिका वडा नं. ६ का वडाध्यक्ष धनबहादुर लामाले करिब २२ वर्षपछि पुनः नगरकोट–काठमाडौँ सिधा बस सेवा सञ्चालन भएको जानकारी दिए। उनका अनुसार प्रत्येक घण्टामा ६ वटा बस सञ्चालन हुनेछन्, जसले यात्रुहरूको यात्रा छिटो, सहज र सस्तो बनाउनेछ।

नगरपालिकाले भ्रमण वर्षलाई लक्षित गरी थप बस सञ्चालन गर्ने योजना बनाएको छ। नगरकोट–काठमाडौँ सिधा बस सेवा सुरु भएपछि स्थानीय व्यवसायी र पर्यटन क्षेत्रका सरोकारवालाहरूले स्वागत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य