पत्रकारमाथि विभेद सह्य हुँदैन चौतारी अध्यक्ष : गणेश बस्नेत

Categories:

-

काठमाडौं, फागुन २८ – प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले सञ्चारमाध्यमले विचारका आधारमा पत्रकारमाथि विभेद गरे सह्य नहुने बताएका छन्।

बुधबार प्रेस चौतारी नेपाल प्रतिष्ठान प्रदेशको दोस्रो प्रदेश अधिवेशन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष बस्नेतले पत्रकारहरूलाई कारबाहीको डर देखाएर नियन्त्रण गर्ने मानसिकताबाट मिडिया सञ्चालकहरू मुक्त हुनुपर्ने बताए। उनले पत्रकारहरूलाई जिम्मेवारी र उत्प्रेरणाद्वारा सक्षम बनाउनुपर्नेमा जोड दिँदै प्रेस चौतारीका सदस्यहरूले लेखनसँगै संगठनलाई बलियो बनाउनुपर्ने धारणा राखे।

“जय नेपाल भन्नेहरूले केही नहुने, तर प्रेस चौतारीको सदस्य हुँदा दुःख दिने सञ्चारमाध्यमलाई अब हामी सहने छैनौँ,” उनले चेतावनी दिए। उनले प्रेस चौतारी नेपालका सदस्य पत्रकारहरूले ढुक्कसँग आफ्नो परिचय खुलाएर काम गर्न आग्रह गरे। “प्रेस चौतारी अब्बल पत्रकारहरूको संगठन हो, डराउनु आवश्यक छैन,” उनले भने।

प्रधानमन्त्रीको समृद्ध नेपाल, सुखी नेपाली अभियानलाई समाचारको प्राथमिकता दिनुपर्ने भन्दै उनले केही शक्तिहरू देश बनाउने नेताहरूविरुद्ध षड्यन्त्र गरिरहेको बताए। “देश बनाउने नायकलाई हिलो छ्याप्ने काम भइरहेको छ। अब समाचार सेटिङको अवधारणालाई व्यवहारमा उतार्नुपर्छ,” उनले जोड दिए।

बस्नेतले पत्रकार बन्न विशेष क्षमता आवश्यक हुने बताउँदै समाज परिवर्तनको उद्देश्यबिना पत्रकारिता सम्भव नभएको उल्लेख गरे। “विरोधीहरूसँग जुध्ने क्षमता र धम्कीको सामना गर्नसक्ने आँट भएकाले मात्र पत्रकार बन्न सक्छन्,” उनले भने।

विदेशी शक्तिहरूलाई प्रयोग गरेर केही समूह सरकारले गरिरहेका कामविरुद्ध लागेको आरोप लगाउँदै उनले प्रेस चौतारी नेपालका पत्रकारहरूले सत्यतथ्य उजागर गर्नुपर्ने बताए। उनले अन्य देशका पत्रकारहरूले त्यहाँका नेताहरूको योगदानबारे लेख्ने गरेको भन्दै नेपालमा पनि केपी ओलीको योगदानबारे समाचार तयार गर्नुपर्ने सुझाव दिए।

अब अरूले लेखेको समाचार कपि-पेस्ट गर्ने प्रवृत्तिलाई हटाएर पत्रकारहरूले आफ्नै एजेन्डा सेट गरेर समाचार लेख्नुपर्ने उनको धारणा थियो। “पुँजीवादी पत्रकारिता र प्रगतिशील पत्रकारिताको एजेन्डा फरक हुन्छ भन्ने बुझ्न जरुरी छ,” उनले भने।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य