काठमाडौँमा बेपत्ता भएका पुरुषको शव शिवपुरी जंगलमा फेला

Categories:

-

काठमाडौँ ,२८ फागुन । तारकेश्वर नगरपालिका-६ धर्मस्थलीका ५८ वर्षीय कान्छा महर्जन १७ दिनदेखि बेपत्ता रहेका अवस्थामा शिवपुरी जंगलमा मृत फेला परेका छन्।

महर्जन फागुन १० गते घरबाट हराएका थिए। खोजी कार्य जारी रहेका बेला मंगलबार तारकेश्वर नगरपालिका-३ पाँचमानेस्थित शिवपुरी जंगलमा उनको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए।

प्रहरीका अनुसार उनी श्रीमतीसँग झगडा परेपछि घरबाट निस्किएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शवलाई मुचुल्का उठाएर परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पठाइएको छ। मृत्युको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

यसैबीच, तारकेश्वर नगरपालिका-१० मनमैजु फूलबारी टोलमा बस्ने ६५ वर्षीया बिसानी गुरूङ आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन्। गुरूङको मृत्युबारे पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

त्यस्तै, गोकर्णेश्वर नगरपालिका-५ जम्बुडाँडा नयाँ पुलस्थित सडक किनारमा पार्किङ गरेर राखिएको स्काभेटरमा अचानक आगलागी हुँदा ठूलो क्षति भएको छ। घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य