बागमती नदीमा भेटिएको महिलाको शव प्रकरण: घटनाका सबै आरोपित पक्राउ, मृतकको पहिचान अझै खुल्न बाँकी

Categories:

-

काठमाडौं, २७ फागुन । गोकर्णेश्वर नगरपालिका–७ स्थित बागमती नदीमा शनिबार बिहान फेला परेको महिलाको शव प्रकरणमा संलग्न सबै आरोपित पक्राउ परेका छन्। शवलाई बोरा भित्र बाँधेर नदीमा फालिएको अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान तीव्र बनाएको थियो।

प्रहरीका अनुसार शनिबार बिहान साढे ११ बजेतिर बागमती नदीमा पूजाका लागि गएका एक व्यक्तिले बोराबाट महिलाको हात निस्किएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि काठमाडौं प्रहरी परिसर, उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त बौद्ध घटनास्थलमा पुगेका थिए।

शव बोरामा पोको पारिएको अवस्थामा रहेको र खुट्टा प्लास्टिकको टेपले बाँधिएको देखिएपछि हत्या भएको निष्कर्षसहित प्रहरीले अनुसन्धान अघि बढायो।

सीसीटीभीबाट पहिचान, चार जना घटनास्थलबाट पक्राउ

प्रहरीले घटनास्थल नजिकको वडा कार्यालयको सीसीटीभी फुटेज विश्लेषण गर्दा चार जनाले शव रहेको बोरा बोकेर बागमती नदीमा फालिरहेको देखियो। उनीहरू शव फालेर जम्बुडाँडा क्षेत्र हुँदै फर्किएको फुटेजमा देखिएपछि खोजी प्रक्रिया अगाडि बढाइयो।

स्थानीय एक महिलाले ती चार-पाँच जना युवक नजिकै बस्ने बताएपछि प्रहरीले शनिबार राति साढे १० बजेतिर गोठाटारमा रहेको कोठाबाट तीन युवक र एक नाबालकलाई पक्राउ गर्‍यो। अनुसन्धानको क्रममा ती नाबालकले घटना भएको कोठासमेत देखाइदिए।

घटनामा संलग्न अन्य पक्राउ, हत्या योजनाबद्ध थियो?

पक्राउ परेकाहरूको बयानका आधारमा घटनामा संलग्न २० वर्षीया पूजा परियारलाई आइतबार लोकन्थलीबाट पक्राउ गरियो। घटनामा संलग्न भनिएका १९ वर्षीय पेम्बा तामाङलाई भने सोमबार माकलबारीबाट नियन्त्रणमा लिइयो।

प्रहरीले हालसम्म पक्राउ गरेका अभियुक्तहरू:

  • कैलाश खड्का (२५), सर्लाही, बागमती ढुंग्रेखोला
  • सुरेश तामाङ (२०), मकवानपुर, हेटौंडा
  • रोशन तामाङ (२४), नुवाकोट, मेघाङ-४
  • नाबालक (नाम गोप्य)
  • पूजा परियार (२०), सिन्धुपाल्चोक, तिपिने
  • पेम्बा तामाङ (१९), मकवानपुर, थाहा नगरपालिका

रोशन, पेम्बा, र नाबालक शव व्यवस्थापनमा मात्र संलग्न भएको देखिएको छ। तर पूजा, कैलाश, र सुरेश भने मृतक महिलासँगै रहेको देखिएको छ।

रक्सी, शारीरिक सम्पर्क र रहस्यमय मृत्यु

पक्राउ परेकाहरूका अनुसार घटना फागुन २० गते राति गोठाटारस्थित पूजाको कोठामा भएको थियो। उनीहरू सबै एक खाजा पसलमा रक्सी खाएर पूजाको कोठामा गएका थिए।

पूजा र मृतक महिला केही दिनअघि मात्रै होटलमा भाँडा माझ्ने काम गर्दा भेट भएका थिए। ती महिला पनि रक्सी खाने भएकाले पूजा उनलाई ‘दिदी’ भनेर बोलाउँथिन्। तर, पूजाले मृतक महिलाको वास्तविक नाम थाहा नभएको बयान दिएकी छन्।

कैलाश र सुरेशले ती महिलासँग शारीरिक सम्पर्क राखेका थिए। उनीहरूका अनुसार सम्पर्ककै क्रममा ती महिला बेहोस भइन्। डराएका उनीहरू राति नै कोठाबाट भागे।

शव लुकाउन २ दिनसम्म धूप बालियो

भोलिपल्ट बिहान पूजा ब्युँझिएर मृतक महिलालाई कोठामै मृत फेला पार्छिन्। त्यसपछि उनले कैलाश र सुरेशलाई बोलाउँछिन्। उनीहरूले शव छोपेर दुई दिनसम्म त्यहीँ राखे। गन्ध आउन थालेपछि उनीहरूले धूप बालेर लुकाउने प्रयास गरे।

तर, गन्ध बढ्दै गएपछि शव व्यवस्थापन गर्ने योजना बनेको थियो। चार जना युवाले राति ४ बजे किराना पसलबाट बोरा ल्याएर शव पोको पारेर बागमती नदीमा फालेका थिए।

मृतकको पहिचान अझै खुल्न बाँकी

मृतक महिलाको पहिचान भने अझै खुलेको छैन। प्रहरीले ओखलढुंगाकी महिला भएको प्रारम्भिक अनुमान गर्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगासँग सनाखतका लागि पत्राचार गरिसकेको छ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिएका छन्। शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य