झापामा एमाले युवा नेतामाथि खुकुरी आक्रमण, तीन घाइते

Categories:

-

झापा, २७ फागुन । झापामा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघका इन्चार्ज खगेन्द्रराज आङ्देम्बे (राज)सहित तीन युवामाथि गएराति आक्रमण भएको छ। धारिलो हतियार प्रयोग गरी गरिएको आक्रमणमा तीनै जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार गएराति करिब १ बजे एक समूहले बोलाएर उनीहरूमाथि आक्रमण गरेको हो। घाइतेहरूको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा उपचार भइरहेको छ।

आक्रमणमा परी घाइते हुनेहरूमा आङ्देम्बे, विश्वदिप राजवंशी र अजय खवास रहेका छन्। घाइतेमध्ये आङ्देम्बेको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए। आङ्देम्बेको अनुहारमा गम्भीर चोट लागेको छ भने अन्य दुई जनाको हात तथा शरीरका विभिन्न भागमा सामान्य चोट लागेको उनले बताए। आङ्देम्बे हाल आईसीयूमा उपचाररत छन्।

घटनाका साक्षी अजय खवासका अनुसार यो आक्रमण योजनाबद्ध रूपमा भएको हो। “आङ्देम्बेमाथि खुकुरी प्रहार हुँदा मैले रोक्ने प्रयास गरेँ, जसका कारण मेरो हातका चार औंला काटिएका छन्,” उनले भने।

अर्का घाइते विश्वदिप राजवंशीका अनुसार आक्रमणकारीहरू मोटरसाइकलमा सवार चारजनाको समूह रहेको थियो। उनीहरूले भद्रपुर रोडमा रहेको दरबार रेष्टुरेण्टबाट ओर्लिएपछि आक्रमण गरेका थिए।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ भने संलग्नहरूलाई खोजी कार्य जारी रहेको डीएसपी खड्काले जानकारी दिए। यद्यपि, आक्रमण कसले र किन गरेको भन्नेबारे प्रहरीले केही खुलाएको छैन।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य