हेटौँडा, २७ फागुन – यातायात सेवा कार्यालय हेटौँडा, मकवानपुरले सवारीसाधनको विद्युतीय अभिलेख (डिजिटाइजेसन) गर्ने काम सुरु गरेको छ। सवारीसाधनको ‘रेकर्ड’ खोज्न सहज बनाउने र नवीकरणका लागि कार्यालय धाउनुपर्ने झन्झट हटाउने उद्देश्यले अभिलेखिकरण प्रक्रिया अघि बढाइएको हो।
कार्यालय प्रमुख प्रवीण श्रेष्ठका अनुसार यस कार्यले यातायात प्रशासनलाई प्रभावकारी बनाउनेछ। “अब सबै सवारीसाधनको विद्युतीय अभिलेख रहने भएकाले अनलाइनबाटै कर तिर्न सकिनेछ, साथै ब्लुबुक बोक्नु नपर्ने सुविधा प्रदान गरिनेछ,” उनले भने।
बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले केही दिनअघि अभिलेखीकरण अभियानको शुभारम्भ गरेका थिए। हाल कार्यालयका कर्मचारीहरूले सवारीसाधनको कागजात तथा तथ्याङ्क डिजिटल प्रणालीमा प्रविष्ट गर्ने काम गरिरहेका छन्।
श्रेष्ठका अनुसार कार्यालयमा हाल करिब ५१ हजार सवारी दर्ता छन्, जसमा दुईपाङ्ग्रे, तीनपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसमेत छन्। यो कार्य तीन–चार महिनाभित्र पूरा गर्ने लक्ष्य राखिएको छ।
डिजिटाइजेसन भएपछि सवारीधनीहरूलाई कार्यालय धाउनुपर्ने झन्झट हट्ने र अनलाइन प्रणालीमार्फत सहज रूपमा कर तिर्ने तथा आवश्यक कागजातहरू प्राप्त गर्न सकिनेछ। यातायात व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन गरिएको यो कदमले सेवाग्राहीलाई ठूलो सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ।


