काठमाडौं,२६ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई लक्षित गर्दै विदेशी नेताको तस्बिर राखेर जुलुस निकाल्नुपर्ने अवस्थासम्म आफूहरू नपुगेको टिप्पणी गरेका छन्।
सोमबार गैरसरकारी संस्था महासंघको ११औं महाधिवेशन तथा नागरिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा भारतीय नेता तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोग गरिएको घटनालाई इंगित गर्दै कटाक्ष गरेका हुन्।
“हामी एउटा जुलुस निकाल्नुपर्यो भने विदेशीको फोटो राखेर जुलुस निकाल्नुपर्ने दयनीय हालतमा छैनौँ। हामीसँग आफ्नै विचार, आफ्नै नेता छन्। हामी आफैँले दृष्टान्त दिन सक्छौँ,” ओलीले भने।
प्रधानमन्त्री ओलीले असंवैधानिक र प्रजातन्त्रविरोधी गतिविधिहरूमा आफूहरू नलाग्ने स्पष्ट पारे। उनले दरबार हत्याकाण्डको स्मरण गर्दै त्यस्ता संस्थाहरूका समर्थकहरूबाट यस्ता गतिविधि हुने आरोप लगाए।
“हामी आफ्नै कुरामा छौँ। यस्ता फाल्तु, असंवैधानिक, प्रजातन्त्रविरोधी, पद्धतिविरोधी, प्रणालीविरोधी कुरामा हामी लाग्दैनौं,” उनले थपे।
प्रधानमन्त्री ओलीको यो टिप्पणी राजसंस्थाका समर्थकहरू र उनीहरूका गतिविधिलाई लक्षित गरिएको रूपमा हेरिएको छ। पूर्वराजाको समर्थनमा भएका गतिविधिहरू र विदेशी नेतासँगको सम्बन्धबारे नयाँ बहस सुरु हुनसक्ने देखिएको छ।


