वरिष्ठ पत्रकार शीतल साहसहित समाजवादी प्रेस संगठनको मधेश प्रदेश टिनमै प्रेस चौतारीमा समाहित

Categories:

-

रौतहट, २६ फागुन । समाजवादी प्रेस संगठनको केन्द्रीय सल्लाहकार रहेका वरिष्ठ पत्रकार शीतल साह प्रेस चौतारीमा फर्किएका छन्। साहसँगै समाजवादी प्रेस संगठन, मधेश प्रदेशका अध्यक्ष प्रवीण साहसहित समितिका अन्य सदस्यहरू पनि पुनः चौतारीमा समाहित भएका छन्।

रौतहटको चन्द्रपुरमा आयोजित प्रेस चौतारी, मधेश प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन समारोहमा उनीहरू चौतारीमा फर्किएका हुन्। पत्रकार महासंघको कोषाध्यक्षको रूपमा विगतमा काम गरिसकेका शीतल साह हाल वृहत्तर जनकपुर क्षेत्र विकास समितिको अध्यक्षको जिम्मेवारीमा छन्।

उनीहरूलाई नेकपा एमालेका महासचिव शंकर पोखरेल, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, वरिष्ठ नेता विश्वमणि सुवेदीसहितका नेताहरूले स्वागत गरे। कार्यक्रममा बोल्दै साहले संगठनभित्र रहेका केही असहमतिका कारण समाजवादी प्रेस संगठनमा गएको स्वीकार गर्दै अब प्रेस चौतारीलाई अझ सशक्त बनाउने प्रतिवद्धता व्यक्त गरे।

साहसँगै समाजवादी प्रेस संगठन, मधेश प्रदेशका अध्यक्ष प्रवीण साहसहितको टिम पुनः चौतारीमा फर्किनु संगठनका लागि महत्वपूर्ण उपलब्धि भएको चौतारीका नेताहरूले बताएका छन्। कार्यक्रममा सर्लाहीबाट बख्तियार अली, बाराबाट अफरोज अर्पण, रामविनय साहसहितका पत्रकारहरू पनि प्रेस चौतारीमा फर्किएका छन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य , प्रेस चौतारीका नेताहरू, विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा पत्रकारहरूको उपस्थिति थियो। उनीहरूले पत्रकारहरूको अधिकारका लागि संगठनहरूको सशक्तीकरण आवश्यक रहेको बताए।

हालैका महिनाहरुमा  प्रेस चौतारीबाट बाहिरिएका थुप्रै पत्रकार पुनः संगठनमा फर्किरहेका छन्। साहको नेतृत्वमा मधेश प्रदेश समितिसमेत समाहित भएपछि चौतारीले मधेश प्रदेशमा आफ्नो प्रभाव बलियो बनाउने विश्वास लिएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य