काठमाडौं,२५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो गतिविधिप्रति आपत्ति जनाएका छन्। सुदूरपश्चिम प्रदेशसभालाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शाहको अभिव्यक्तिले लोकतान्त्रिक प्रक्रिया, संविधान, र कानुनी व्यवस्थाको अपमान गरेको टिप्पणी गरे।
फागुन ६ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा शाहले दिएको सम्बोधनप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री ओलीले भने, “संविधानको पनि कुरा गर्नुहुन्न, कानुनको पनि कुरा गर्नुहुन्न, लोकतन्त्र, प्रणाली प्रक्रियाको कुरा गर्नुहुन्न, अनि भन्नुहुन्छ— मलाई साथ दिनुस्, म आउँछु, देश बचाउँछु। देशलाई के भएको छ?”
प्रधानमन्त्री ओलीले पूर्वराजाको अभिव्यक्तिले देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरेको आरोप लगाए। उनले शाहको गतिविधिले लोकतान्त्रिक व्यवस्था र संविधानप्रति अविश्वास जगाउने खतरा रहेको उल्लेख गर्दै भने, “उहाँहरूको अस्थिरताका क्रियाकलापहरूले उहाँद्वारा प्रेरित गतिविधिले देश अफ्ठ्यारोमा पर्दै छ।”
प्रधानमन्त्री ओलीले पूर्वराजाले चुनावमा भाग लिन चाहेको हो कि जनतासँग समर्थन खोजेको हो भन्ने प्रश्न समेत गरे। “पुस्तौंसम्म शासन गरिसकेको व्यक्तिले देशलाई लोकतान्त्रिक प्रणालीमा अघि बढाउन सघाउनु पर्ने हो। तर, उहाँको अभिव्यक्तिले चुनावमा भोट मागेको जस्तो देखिन्छ,” ओलीले भने।
उनले पूर्वराजाले खुलेर राजनीतिमा आउन चाहे स्वागत योग्य हुने बताए। “राजनीतिमा आउन चाहनुहुन्छ भने लोकतान्त्रिक बाटो अपनाउनुहोस्, हामी स्वागत गर्छौं। तर, संविधान र कानुनी व्यवस्थालाई कमजोर पार्ने अभिव्यक्ति ठीक होइन,” प्रधानमन्त्री ओलीले दोहोर्याए।
पूर्वराजा ज्ञानेन्द्रले फागुन ६ गतेको सम्बोधनमा मुलुकको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै आफू देशको हितका लागि अघि बढ्न तयार रहेको संकेत दिएका थिए। तर, ओलीले पूर्वराजाको यस्तो सक्रियतालाई लोकतान्त्रिक व्यवस्थाप्रति चुनौतीका रूपमा व्याख्या गरेका छन्।
नेपालमा गणतन्त्र स्थापनासँगै राजसंस्था समाप्त भएको छ। पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्रको सक्रियता बढ्दै जाँदा विभिन्न राजनीतिक दलका नेताहरूले मिश्रित प्रतिक्रिया दिँदै आएका छन्।


