नुवाकोट,२५ फागुन । बागमती प्रदेशका मुख्यमन्त्री लामा तामाङले देशको परिवर्तन र विकासका लागि सुशासन अत्यन्त आवश्यक भएको बताएका छन्। नुवाकोटको विदुरमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बागमती प्रदेशमा सुशासनका लागि केही महत्वपूर्ण कदम चालिसकेको जानकारी दिएका छन्।
मुख्यमन्त्री तामाङले भने, “सुशासनविना देशको विकास असम्भव छ। जनप्रतिनिधि, कर्मचारी र पत्रकारिता क्षेत्रमा सुशासनको आवश्यकता छ। हामीले सबै क्षेत्रका कामलाई एक नियम र परिपाटी अनुसार गर्नुपर्ने हो।” उनले प्रदेशको शासन व्यवस्थामा सुशासन र वित्तीय अनुशासनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै, प्रदेशका मन्त्रीहरू, सचिवहरू र कर्मचारीहरूको कार्यतालिका बनाई काम गरिरहेको बताए।
मुख्यमन्त्री तामाङले बागमती प्रदेशमा विकास र निर्माणको कार्यमा सुधार ल्याउने प्रयास गर्दै सरकारको योजनाबद्ध कार्यशैलीमा योगदान पुर्याउने बताएका छन्। उनले शिक्षा र स्वास्थ्यलाई मानवका प्राथमिक आवश्यकता भएकाले यस क्षेत्रमा सुधारका लागि काम गर्नुपर्ने जोड दिए। स्वास्थ्य सुरक्षामा सुधार ल्याउन खानेकुरामा नियन्त्रणको आवश्यकता रहेको पनि उनले बताए।
उनले भने, “यदि हामीले खानेकुरामा नियन्त्रण राख्यौं भने, धेरै स्वास्थ्य समस्याहरू कम गर्न सकिन्छ। यसका लागि बागमती प्रदेशले नयाँ कार्यक्रम ल्याउने छ।”
मुख्यमन्त्रीले प्रदेशका पत्रकारहरूको क्षमता विकासका लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्दै, पत्रकारहरूले खोज र अनुसन्धानमुखी समाचारलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनले सकारात्मक दृष्टिकोण अपनाएर कार्य गर्ने महत्त्वको बारेमा समेत कुरा गरे, जसले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छ।
कार्यक्रममा मुख्यमन्त्री तामाङले जनताको उन्नति र प्रगतिको लागि प्रदेश सरकार र पत्रकारको सम्बन्ध सुमधुर हुनुपर्ने कुरा जोड दिए।


