धादिङ,२५ फागुन । संघीय राजधानी काठमाडौं आउ-जाउ गर्ने मुख्य नाका नागढुङ्गा–नौबिसे सडकखण्डमा कालोपत्रेको काम सुरु भएको छ। लामो समयदेखि निर्माणका कारण अस्तव्यस्त रहेको यो सडक खण्डमा अब यात्रुहरूको आवागमन केही सहज हुने भएको छ।
नागढुङ्गा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशव ओझाका अनुसार १२.२ किलोमिटरमध्ये ६ किलोमिटर क्षेत्रमा पहिलो तहको कालोपत्रे सम्पन्न भइसकेको छ। बाँकी कामलाई पनि तीव्र रूपमा अघि बढाइएको छ।
सडकको नाला, टेवा पर्खाल तथा अन्य संरचनाहरू निर्माणको काम तीव्रगतिमा रहेको छ। चालु आर्थिक वर्षको असारभित्र सम्पूर्ण स्तरोन्नति र कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखिएको छ। हालसम्म ६८ प्रतिशत काम सम्पन्न भएको छ।
यससँगै नौबिसे–मलेखु खण्डको पृथ्वी राजमार्ग स्तरोन्नति पनि तीव्र गतिमा अघि बढाइएको छ। यस खण्डमा हालसम्म ३० प्रतिशत मात्र काम सम्पन्न भए पनि निर्माण प्रक्रियाले गति लिएको छ। सडकको एकातर्फी चार किलोमिटर भागमा पहिलो चरणको कालोपत्रे गरिसकिएको जनाइएको छ।


