काठमाडौं,२५ फागुन । गृहमन्त्री रमेश लेखकले पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियता र राजावादीहरूको शक्ति प्रदर्शनप्रति कडा चेतावनी दिएका छन्। उनले गणतन्त्र नेपालको स्थायित्वलाई कुनै पनि हालतमा कमजोर हुन नदिने र सरकार आवश्यकता परे कडा कदम चाल्ने बताएका छन्।
पूर्व राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किंदै छन्। उनलाई स्वागत गर्न राजसंस्था समर्थकहरू विभिन्न स्थानबाट जुलुस निकाल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाँदै छन्। यसैबीच, गृहमन्त्री लेखकले सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा भने, “गणतन्त्रको विकल्प राजतन्त्र होइन। लोकतान्त्रिक संविधानमार्फत स्थापित व्यवस्थालाई कमजोर बनाउने प्रयासलाई सरकारले सहन सक्दैन।”
राजावादीहरूको प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले काठमाडौं उपत्यकाभर सुरक्षा सतर्कता बढाएको छ। त्रिभुवन विमानस्थल, नारायणहिटी दरबार संग्रहालय, सिंहदरबारलगायत संवेदनशील क्षेत्रहरूमा सुरक्षाकर्मी तैनाथ गरिएको छ। सुरक्षा निकायका अनुसार करिब ६ हजार राजावादी प्रदर्शनमा सहभागी हुन सक्ने आँकलन गरिएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा जिल्ला सुरक्षा समितिको बैठक बसेको छ। भीड नियन्त्रण गर्न सरकारले सुरक्षा रणनीति तय गरेको छ। विमानस्थल वरपर सुरक्षा कडा पारिएको छ, जसले गर्दा राजावादीहरूको जुलुसलाई व्यवस्थित गर्ने प्रयास भइरहेको छ।
गृहमन्त्री लेखकले पूर्व राजालाई संकेत गर्दै भने, “लोकतन्त्रविरोधी गतिविधि स्वीकार्य हुँदैन। यदि कसैले संविधानविरोधी गतिविधि गर्न खोजे, सरकार कठोर हुन बाध्य हुनेछ।”
उनको भनाइले राजसंस्थाप्रति कट्टर समर्थन जनाउने समूहहरूलाई स्पष्ट सन्देश दिएको छ। यसबीच, पूर्व राजाको स्वागतका लागि विभिन्न राजावादी समूहहरू सक्रिय भएका छन्, जसले आगामी दिनमा राजसंस्थासम्बन्धी बहसलाई पुनः बल दिन सक्ने देखिएको छ।


