ज्ञानेन्द्र शाहको आगमनले राजनीति तात्यो, चार्टर्ड उडानदेखि कोणसभा सम्मको चर्चा

Categories:

-

काठमाडौं,२५ फागुन । पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राजावादीहरूले विशेष तयारी गरेका छन्। उनी आज दिउँसो ३ बजे समिट एअरको चार्टर्ड उडानमार्फत पोखराबाट काठमाडौं आइपुग्ने कार्यक्रम छ। शाहको स्वागतमा राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलदेखि सिनामंगल, गौशाला, चाबहिल हुँदै महाराजगञ्जस्थित निर्मल निवाससम्म मोटरसाइकल र्याली तथा जयजयकारसहितको जुलुस निकाल्ने भएका छन्।

शाहको सम्मानमा निर्मल निवास बाहिर कोणसभा आयोजना गरिने बताइएको छ। सोही अवसरमा राजावादीहरूले शाहको औपचारिक अभिनन्दन गर्ने तयारी गरेका छन्। विभिन्न जिल्लाबाट राजसंस्थाका समर्थक काठमाडौं आइपुगेका छन् भने सामाजिक सञ्जालमा समेत राजसंस्थाप्रेमीहरूले शाहको स्वागत गर्ने आह्वान गरेका छन्।

चार्टर्ड उडानको चर्चा

पूर्व राजा शाहले समिट एअरको चार्टर्ड उडानमार्फत काठमाडौं आउनु केही प्रश्न उठाएको छ। समिट एअर नेपालगञ्जमा आधारित विमान कम्पनी हो, जसले कर्णालीका दुर्गम जिल्लामा उडान भर्दै आएको छ। पोखराबाट काठमाडौं आउनका लागि बुद्ध एयर, यति एयरलगायत नियमित उडानका विकल्प हुँदाहुँदै चार्टर्ड फ्लाइट प्रयोग गर्नु खर्चको हिसाबले महँगो मानिएको छ।

यस विषयमा टिप्पणी गर्दै एक विश्लेषकले भने, “शाहको समिट एअर प्रयोग गर्नुको पछाडि कुनै विशेष कारण हुन सक्छ। कतिपयले यसमा उनको लगानी छ कि भन्ने अनुमान गरेका छन्। बुद्ध एयरको विमानको पछिल्लो दुर्घटनापछि सुरक्षालाई ध्यानमा राखेर उनले चार्टर्ड उडान रोजेको हुनसक्छ।”

यसैबीच, पूर्व राजा शाहको पछिल्लो गतिविधिलाई राजनीतिक रूपमा पनि हेरिएको छ। हालै विभिन्न स्थानमा राजसंस्थाको पुनःस्थापनाका लागि आवाज उठ्ने क्रम बढ्दै गएका बेला शाहको आगमनले थप चर्चा पाएको छ। राजसंस्थाका समर्थकहरू शाहको सक्रियताले नेपालमा राजतन्त्रको सम्भावित पुनरागमनको संकेत गर्छ भन्ने विश्वास व्यक्त गर्छन्।

काठमाडौं उपत्यकाभित्र सुरक्षा व्यवस्था कडा पारिएको छ भने कोणसभा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न प्रशासन सतर्क रहेको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य