काठमाडौं,२४ फागुन । नेकपा (माओवादी केन्द्र)ले ‘जनतासँग माओवादी, तराई-मधेस जागरण अभियान’ स्थगित गरेको छ। सामाजिक सञ्जालदेखि सडकसम्म राजावादीहरू सक्रिय हुन थालेपछि पार्टीले नयाँ रणनीति बनाउन पदाधिकारी बैठक बोलाएको हो।
माओवादीका एक नेताका अनुसार आइतबार बस्ने पदाधिकारी बैठकमा वर्तमान राजनीतिक परिस्थितिको समीक्षा गर्दै आवश्यक निर्णय गरिनेछ।
‘सरकारको कामले जनतामा निराशा बढेको छ, राजावादीहरू फेरि सलबलाएका छन्,’ ती नेताले भने, ‘गणतन्त्रको रक्षा माओवादीले नै गर्ने हो भन्ने सन्देश फैलाउन अभियानलाई केही समयका लागि रोकिएको हो।’
प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव गोविन्द आचार्यका अनुसार तराई-मधेसमा होली पर्वको माहोललाई ध्यानमा राख्दै अभियान रोकिएको छ।
‘तराईमा होली मनाउने समय भएकाले र समसामयिक राजनीतिक विषयमा छलफल गर्नुपर्ने भएकाले अभियान स्थगित गरिएको हो,’ उनले नेपालखबरसँग भने, ‘सरकारको काम र व्यवस्थामाथि निरन्तर आक्रमण भइरहेको छ, त्यसको खबरदारी गर्न माओवादी आफ्नो भूमिका खेल्ने तयारीमा छ।’


