काठमाडौं,२४ फागुन । प्रेस चौतारी नेपाल उपत्यका प्रदेश कमिटीको अध्यक्षमा सीतामाया पौडेल (अर्चना) निर्वाचित भएकी छन्। शनिबार सम्पन्न दोस्रो अधिवेशनले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
उपत्यका प्रदेश कमिटीका दुई उपाध्यक्षमा राजकुमार सिलवाल र संगीता अधिकारी निर्वाचित भएका छन्। महासचिवमा सौगात मिश्र चयन भएका छन् भने सचिवमा सन्तोष लुइँटेल, सुशील पुरी, श्रीराम तिवारी, रामचन्द्र बस्नेत, लीजा क्षेत्री र सन्तोष तामाङ निर्वाचित भएको उपत्यका इन्चार्ज हेमराज सिलवालले जानकारी दिए।
कोषाध्यक्षमा सुरेश जीसी निर्वाचित भएका छन्। त्यस्तै, सदस्यहरूमा ज्योति जीसी, रोशनराज अर्याल, जीबी लामा र मेघराज पहाडी चयन भएका छन्।
अधिवेशनले समाजवादी प्रेस संगठन परित्याग गरी पुनः प्रेस चौतारीमा फर्किएकाहरूलाई महत्वपूर्ण जिम्मेवारी दिएको छ। सो समूहबाट फर्किएका उपाध्यक्ष संगीता अधिकारी, महासचिव सौगात मिश्र, सचिव रामचन्द्र बस्नेत र लीजा क्षेत्रीलाई नेतृत्वमा समावेश गरिएको छ।
नव निर्वाचित अध्यक्ष पौडेलले पत्रकारहरूको हकहित र प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि आफूले प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले संगठनलाई अझ सशक्त बनाउन सबै पत्रकारहरूको सहकार्य आवश्यक रहेको उल्लेख गरिन्।
अधिवेशनमा प्रेस चौतारी नेपालका केन्द्रीय नेताहरू, पत्रकारहरू तथा अन्य सम्बन्धित पक्षहरूको उपस्थिति रहेको थियो। नयाँ नेतृत्व चयनसँगै उपत्यकाका सञ्चारकर्मीहरूको संगठनात्मक सुदृढीकरणमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।


