प्रेस सेन्टर नेपालको राष्ट्रिय सम्मेलन चैत १५-१६ मा, अध्यक्ष पदका लागि तीव्र प्रतिस्पर्धा

Categories:

-

काठमाडौं, फागुन २३ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालको राष्ट्रिय सम्मेलन २०८१ चैत १५ र १६ गते काठमाडौंमा हुँदैछ। सम्मेलनमा नयाँ नेतृत्व चयन गरिनेछ, जसलाई माओवादी केन्द्रभित्रको शक्ति सन्तुलनको रूपमा पनि हेरिएको छ।

अध्यक्ष पदका लागि हालसम्म दुई उम्मेदवार प्रतिस्पर्धामा देखिएका छन्। प्रेस सेन्टरका वरिष्ठ उपाध्यक्ष कमल गिरीले आफू नै आधिकारिक उम्मेदवार भएको दाबी गरेका छन्। स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गिरीलाई जिताउने जिम्मेवारी प्रेस सेन्टरका अध्यक्ष विष्णुप्रसाद सापकोटालाई दिएका छन्।

दोस्रो पक्षबाट पूर्वगृहमन्त्री जनार्दन शर्मा निकट लक्ष्मण खड्का अध्यक्ष पदका लागि प्रतिस्पर्धामा छन्। पार्टीभित्र गुटगत राजनीति सक्रिय रहँदै आएको माओवादी केन्द्रमा यस पटक पनि प्रेस सेन्टरको नेतृत्व छनोटमा आन्तरिक शक्ति सन्तुलनको प्रभाव स्पष्ट देखिएको छ।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निकट रहँदै आएका कमल गिरी नेतृत्वका लागि अग्रसर छन् भने जनार्दन शर्मा समूहले लक्ष्मण खड्कालाई अघि सारेको छ। पार्टी अध्यक्ष प्रचण्ड निकट समूहले भातृ संगठनहरूमा आफ्नो पकड बलियो बनाउन खोजिरहेको चर्चा छ।

कतिपय पत्रकारहरूले प्रेस सेन्टरले पत्रकारिता भन्दा बढी पार्टी राजनीति केन्द्रित रहेको आरोप लगाउँदै आएका छन्। संगठनको नेतृत्वका लागि वास्तविक पत्रकार र नेताहरू निकट बन्ने चाहना राख्ने व्यक्तिहरूबीच प्रतिस्पर्धा हुने देखिन्छ। यसरी नेतृत्व चयन भएपछि संगठनको भविष्य कस्तो बन्छ भन्ने विषयमा प्रेस सेन्टरका वास्तविक पत्रकार समुदायमा चासो बढेको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य