चन्द्रागिरिमा भीषण आगलागी, सात दमकल परिचालन

Categories:

-

काठमाडौं, फागुन २३ – काठमाडौंको चन्द्रागिरि नगरपालिका–१०, बोसीगाउँस्थित आरएमबी प्लास्टिक प्याकेजिङ हाउस (कवाड कारखाना) मा गएराति भीषण आगलागी भएको छ। पुष्पा श्रेष्ठ र रमेश पोदारले संयुक्त रूपमा सञ्चालन गरेको सो कारखानामा लागेको आगो नियन्त्रणका लागि सुरक्षाकर्मी र स्थानीयवासी परिचालन भएका थिए।

प्रहरी वृत्त बालाजु, प्रहरी वृत्त थानकोट, र प्रभागबाट ३२ जनाको टोली आगो नियन्त्रणका लागि खटिएको थियो। आगलागी नियन्त्रणमा ल्याउन सशस्त्र प्रहरी बल तथा स्थानीयबासीसमेत सक्रिय भएका थिए। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार आगो निभाउन सातवटा दमकल र १५ वटा पानी ट्याङ्कर प्रयोग गरिएको थियो।

प्रहरीका अनुसार आगलागी नियन्त्रणमा आइसकेको छ तर क्षतिको विस्तृत विवरण आउन बाँकी छ। आगो निभाउन चन्द्रागिरि नगरपालिका, विशाल बजार बारुण यन्त्रको दमकल, बालाजु बारुण यन्त्र, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, बौद्ध रामहिटी, र बूढानीलकण्ठ नगरपालिकाका दमकल परिचालन गरिएको थियो।

आगलागीको कारण खुलेको छैन भने घटनास्थलमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य