पोखरा, फागुन २३ – पोखरा महानगरपालिकाले लेकसाइडमा कोटीहोम महायज्ञका लागि भूमिपूजन रोक्न खोज्दा झडप भएको छ। सो क्रममा केही नगर प्रहरी तथा अन्य व्यक्ति घाइते भएका छन्।
मानव सेवा फाउन्डेसनले पोखराको लेकसाइड क्षेत्रमा कोटीहोम महायज्ञ आयोजना गर्न भूमिपूजनको तयारी गरेको थियो। तर, पोखरा महानगरपालिकाले अनुमति नलिएको भन्दै भूमिपूजन रोक्न नगर प्रहरी खटाएको थियो।
महानगरको रोकावटपछि मानव सेवा फाउन्डेसनका संस्थापक विजय भण्डारी र उनका समर्थकहरूले विरोध जनाएका थिए। भण्डारीले जुनसुकै अवस्थामा पनि कोटीहोम गर्ने अडान लिएपछि विवाद चर्किएको थियो। स्थिति तनावपूर्ण बनेपछि महानगरले कोटीहोम क्षेत्र बाहिर नगर प्रहरी तैनाथ गरेको थियो।
झडपका क्रममा दुवै पक्षबीच धकेलाधकेल भएपछि केही नगर प्रहरी घाइते भएका छन् भने समर्थकहरू पनि केही घाइते भएको बताइएको छ।
महानगरले यसबारे थप जानकारी सार्वजनिक गरेको छैन भने मानव सेवा फाउन्डेसनले आफ्नो धार्मिक क्रियाकलापमा अवरोध गरेको भन्दै आपत्ति जनाएको छ। हाल स्थिति नियन्त्रणमा रहेको भए पनि स्थानीय प्रशासनले यस विषयमा छलफल गरी समाधान खोज्ने तयारी गरेको छ।


