काठमाडौं, फागुन २३ – राजधानीको बसन्तपुरमा परम्परागत रूपमा चीर ठड्याइएसँगै यस वर्षको फागु पर्व औपचारिक रूपमा सुरु भएको छ। हनुमानढोका दरबार क्षेत्रको दक्षिणतर्फ रंगीचंगी ध्वजासहित चीर ठड्याएपछि होली पर्वको सुरुवात हुने धार्मिक मान्यता रहँदै आएको छ।
फागुन शुक्ल अष्टमीका दिन काठमाडौँको मानन्धर समुदायले परम्परागत विधिअनुसार चीर ठड्याउने गर्छ। आज बिहान बसन्तपुरमा चीर ठड्याएपछि उनीहरूले अबिर दलेर पर्वको सुरुवात गरेका छन्। राजधानीका विभिन्न स्थानमा पनि चीर ठड्याउने परम्परा रहेको छ। आजै बिहान पशुपतिनाथ मन्दिर परिसर, हनुमानढोकाको सुन्दरीचोक, पाटनको कृष्ण मन्दिर क्षेत्र लगायतका स्थानमा पनि चीर ठड्याइएको छ।
फागु पर्वलाई रंगहरूको पर्वका रूपमा मनाइन्छ। यस अवसरमा विशेष गरी पहाडी क्षेत्रहरूमा फागुन शुक्ल पूर्णिमाका दिन होली खेल्ने प्रथा छ भने तराई-मधेशमा भने पूर्णिमाको भोलिपल्ट होली मनाइन्छ। यस वर्ष पहाडी जिल्लाहरूमा फागुन २९ गते तथा तराई-मधेशमा चैत १ गते फागु पूर्णिमा मनाइने छ।
यस पर्वको ऐतिहासिक तथा धार्मिक महत्त्व छ। हिन्दू धर्मअनुसार होली पर्वको सुरुवात हिरण्यकश्यपुका छोरा प्रह्लादको कथासँग जोडिएको छ। भक्त प्रह्लादलाई मार्न उनका बुवा हिरण्यकश्यपुले आफ्नी बहिनी होलिकालाई आगोमा बस्न लगाए पनि होलिका आफैं जलेर नष्ट भएको र प्रह्लादलाई केही नभएको विश्वास गरिन्छ। यही घटनाको स्मरण गर्दै प्रत्येक वर्ष होली पर्व मनाइन्छ।
काठमाडौं उपत्यकामा विशेष रूपमा मनाइने यस पर्वमा विशेष गरि पर्यटकहरू आकर्षित हुने गर्छन्। चीर ठड्याइएसँगै काठमाडौंमा औपचारिक रूपमा होली पर्वको माहोल सुरु भएको छ।


