काठमाडौँ,२३ फागुन । काठमाडौं जिल्ला अदालतले प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई साइबर अपराधको मुद्दाबाट सफाइ दिएको छ। अदालतले बुधबारको इजलासमा अभियोग दाबी नपुग्ने भन्दै बस्नेतलाई क्लीन चिट दिएको हो। बस्नेतको तर्फबाट बहस गरेका अधिवक्ता हरिप्रसाद पंगेनीले अदालतले मिडियामा प्रकाशित समाचारलाई साइबर अपराध मान्न नमिल्ने र यसको क्षेत्राधिकार प्रेस काउन्सिलमा रहेको व्याख्या गरेको बताए।
बस्नेतको पक्षबाट वरिष्ठ अधिवक्ता बाबुराम दाहाल, रामबहादुर खड्का, रामचन्द्र पौडेल, योगेन्द्रबहादुर थापा, चेतबहादुर थापालगायतले बहस गरेका थिए। अदालतले बस्नेत अध्यक्ष रहेको जनता टाइम्स अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर उनीमाथि चलाइएको मुद्दालाई खारेज गरेको हो।
यसै मुद्दामा अर्को प्रतिवादी गणेश विकलाई भने कसुरदार ठहर्याइएको छ र उनको सजाय पछि निर्धारण हुने छ। अधिवक्ता पंगेनीले यो मुद्दा राजनीतिक पूर्वाग्रहले प्रेरित भएको र क्षेत्राधिकारभन्दा बाहिर गएर लगाइएको बताएका छन्।


