नेपाल बार एसोसिएसन निर्वाचन : अध्यक्षमा पाँच उम्मेदवार, गठबन्धनबीच प्रतिष्पर्धा तीव्र

Categories:

-

काठमाडौं,२३ फागुन । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी परेको छ। आगामी चैत २३ गते हुने निर्वाचनका लागि वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठ, अधिवक्ता राजु कैती, वरिष्ठ अधिवक्ता डा. विजय प्रसाद मिश्र, अधिवक्ता उज्वल घिमिरे र अधिवक्ता आशिष पौडेलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्।

महासचिव पदमा यज्ञमणि न्यौपाने, केदारप्रसाद कोइराला र हरिशरण कार्कीले प्रतिस्पर्धा गर्दैछन्। निर्वाचन समितिले बिहीबार बिहान ११ बजेदेखि साँझ ३ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय दिएको थियो। दर्ता प्रक्रिया सम्पन्न भएसँगै उम्मेदवारहरूको सूची प्रकाशित गरिएको छ।

यसपटकको बार निर्वाचनमा प्रमुख राजनीतिक दलनिकट कानुन व्यवसायीहरूको दुई मुख्य गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिएको छ। सत्ता गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेनिकट कानुन व्यवसायी संगठन क्रमशः डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) र प्रगतिशील पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए) ले संयुक्त प्यानल बनाएका छन्। यस गठबन्धनले अध्यक्षमा डीएलएका विजयप्रसाद मिश्रलाई अघि सारेको छ भने महासचिवमा पीपीएलएका केदारप्रसाद कोइराला उम्मेदवार छन्।

सत्ता गठबन्धनलाई टक्कर दिन माओवादी, रास्वपालगायत दलनिकट कानुन व्यवसायीहरूले अर्को गठबन्धन बनाएका छन्। यस समूहले अध्यक्षमा माओवादीनिकट क्रान्तिकारी कानुन व्यवसायी मञ्च (आरपीएलए) का रमन कुमार श्रेष्ठलाई अघि सारेको छ। महासचिव पदमा यज्ञमणि न्यौपाने रास्वपा निकट उम्मेदवार हुन्।

बार एसोसिएसनको निर्वाचन कानुनी पेशाको गरिमा, न्यायपालिकाको स्वायत्तता तथा कानुनी व्यवसायीहरूको हकहितसँग प्रत्यक्ष रूपमा जोडिएको मानिन्छ। यही कारणले बार निर्वाचनलाई राजनीतिक रूपमा समेत चासोका साथ हेरिन्छ।

२५ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि चैत २३ गते बारका सदस्यहरूले मतदान गर्नेछन्। आगामी नेतृत्वले कानुनी क्षेत्रमा सुधार, स्वायत्तता तथा बारका सदस्यहरूको हकहितको पक्षमा कस्तो भूमिका खेल्छ भन्ने विषय चासोको विषय बन्नेछ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य