बुद्ध एयरको चरम लापरवाही : पाङ्ग्रा खसेको थाहा नै नपाई काठमाडौंमा अवतरण

Categories:

-

काठमाडौं,२२ फागुन ।नेपालको हवाइ सुरक्षामा गम्भीर प्रश्न उठ्ने अर्को घटना सार्वजनिक भएको छ। बुद्ध एयरको जनकपुर–काठमाडौं उडान गर्ने 9N-ANH जहाज बिहीबार एउटा पाङ्ग्रा नै खसेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। चरम लापरवाहीकै कारण उड्डयन सुरक्षा जोखिममा परेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाजलाई ग्राउन्डेड गरेको छ।

जनकपुर विमानस्थलबाट ४:३९ बजे उडेको सो जहाज ५:५ बजे काठमाडौंमा अवतरण गरेको थियो। जहाज अवतरण गरेपछि पाइलटले गरेको नियमित सुरक्षा जाँचका क्रममा अगाडिको (नोज ल्यान्डिङ गेयर) एउटा पाङ्ग्रा गायब रहेको देखेपछि हडकम्प मच्चिएको थियो। जब अनुसन्धान अघि बढाइयो, जनकपुर विमानस्थलकै रनवेमा सो पाङ्ग्रा खसेको पुष्टि भयो।

यस घटनाले बुद्ध एयरको हवाइ सुरक्षाप्रति चरम लापरवाही देखाएको छ। पाङ्ग्रा नै खसेको जहाजले उडान भर्ने अवस्था आउनु, पाइलटलाई त्यसबारे कुनै जानकारी नहुनु, काठमाडौंमा जहाजको अवतरण भएपछिमात्र यसबारे थाहा पाउनु— यी सबै घटनाले नेपालको हवाइ सुरक्षाको दुर्दशा उजागर गरेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) का सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाजमा चालक दलका सदस्यसहित ६२ जना यात्रु थिए। ‘यसरी जहाजको एउटा महत्वपूर्ण भाग बीचमै खस्नु र त्यसबारे जहाजभित्रै रहेका कसैलाई पनि थाहा नहुनु गम्भीर लापरवाही हो। जनकपुरबाट सुरक्षित उडेको देखिए पनि यस्तो त्रुटि भयावह हुन सक्थ्यो,’ उनले भने।

उड्डयन क्षेत्रमा यति ठूलो गल्ती हुनु र कुनै जटिल सूचना प्रणालीले समेत समस्या देखाउन नसक्नुले बुद्ध एयरको प्राविधिक संयन्त्र र सुरक्षा मापदण्डमाथि ठूलो प्रश्न उठेको छ। प्राधिकरणले जहाजलाई तत्काल ग्राउन्डेड गरी छानबिन सुरु गरेको छ।

आज मात्र सात पटक उडेको थियो विमान

 जिम्मेवार को ?

नेपालमा बारम्बार हुने यस्ता लापरवाहीपूर्ण घटनाले यात्रुको ज्यान जोखिममा पार्ने गरेको छ। यति गम्भीर प्राविधिक त्रुटि कसरी भयो? जहाजको प्रि-फ्लाइट चेक किन प्रभावकारी भएन? बुद्ध एयरले विमान उडान गर्नुअघि कस्तो सुरक्षा जाँच गरेको थियो?— यी सबै प्रश्नमा जवाफ दिनुपर्ने जिम्मेवारी बुद्ध एयर र नियामक निकायहरूको हो।

यदि जनकपुर उडानका क्रममा जहाज असन्तुलित भएको भए या ल्यान्डिङका बेला समस्या भएको भए के अवस्था आउँथ्यो? यो घटना सामान्य रूपमा नलिई दोषीहरूलाई कारबाही गर्नुपर्ने आवाज उठ्न थालेको छ। यात्रु सुरक्षामा यति ठूला त्रुटि भइरहँदा पनि व्यवस्थापन मौन बस्ने हो भने अर्को दुर्घटना टाढा छैन।

अब बुद्ध एयर र उड्डयन प्राधिकरणले कडाभन्दा कडा छानबिन गरेर दोषी पहिचान गर्नुपर्ने माग उठिरहेको छ। कुनै पनि हवाइ कम्पनीको लापरवाहीले सयौँ यात्रुको ज्यान जोखिममा पार्न सक्ने भएकाले यस्तो घटनालाई सामान्य रूपमा लिने छुट कसैलाई पनि छैन।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य