अमेरिकाबाट डिपोर्ट भएका आठ नेपाली नागरिकलाई हत्कडी लगाएर काठमाडौं ल्याइयो

Categories:

-

काठमाडौं,२१ फागुन । अमेरिकाबाट डिपोर्ट भएका आठ जना नेपाली नागरिकलाई हत्कडी लगाएर नेपाल ल्याइएको खुलेको छ। उनीहरू ग्रिफान एयरको चार्टर विमानमार्फत बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए।

डिपोर्ट भई फर्किएका ती नेपालीहरूले अध्यागमन अधिकारीहरूसँगको कुराकानीका क्रममा आफूहरूलाई हत्कडी लगाएर ल्याइएको खुलासा गरेका छन्। ‘अमेरिकाबाट आउँदा हत्कडीसँगै खुट्टामा समेत चेनले बाँधिएको थियो, ट्रान्जिटपछि खुट्टाको चेन खोलिएको थियो,’ डिपोर्टमा परेका एक नेपाली नागरिकले बताएका छन्।

नेपाल अध्यागमन विभागका अनुसार, अमेरिकामा डोनाल्ड ट्रम्प ४७औं राष्ट्रपति निर्वाचित भएयता ३५ जना नेपाली नागरिक निष्कासित भइसकेका छन्, जसमा पाँच जना महिला रहेका छन्। सबै जना नियमित उडानमार्फत नेपाल ल्याइएको विभागले जनाएको छ।

कठिन यात्रा र अमानवीय व्यवहारको आरोप

प्राप्त विवरणअनुसार, हिरासतमा रहेका बेला उनीहरूलाई न्यूनतम सुविधा मात्र उपलब्ध गराइएको थियो। ‘खाना खान राम्रोसँग दिइएन, कहिलेकाहीँ क्रु मेम्बरले फलफूल दिन्थे, तर त्यो पनि हत्कडी खोल्न नदिई खान दबाब दिइन्थ्यो,’ एक डिपोर्ट भएका नागरिकले बताए।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले ती नागरिकहरूसँग बयान लिइरहेको छ। प्रहरीका अनुसार, उनीहरूलाई राज्यसँग कुनै गुनासो छ भनेर सोधिएको थियो। तर उनीहरूले अमेरिका वा आफ्नो देशसँग कुनै गुनासो नभएको बताएका छन्।

६ महिना अगाडि अमेरिका पुगेका थिए

प्रहरी अनुसन्धानअनुसार, ८ जना नेपाली करिब ६ महिना अगाडि मात्रै अवैध बाटोबाट अमेरिका पुगेका थिए। उनीहरू विचौलियालाई ५० देखि ९० लाख रुपैयाँसम्म बुझाएर मध्यपूर्वी मुलुक, युरोप, दक्षिण अमेरिका हुँदै उत्तरी अमेरिका पुगेका थिए। ‘जंगल, खोला, समुद्र हुँदै महिनौं लामो यात्रा गरेर अमेरिका पुगेका थिए, तर त्यहाँ पुगेलगत्तै समातिएका रहेछन्,’ प्रहरी स्रोतले बतायो।

डिपोर्ट भएका नागरिकहरूका अनुसार, रोजगारीको अवसर नपाएर अमेरिका जान बाध्य भएको बताए। ‘गाउँबाट अरू पनि त्यसै गरी अमेरिका पुगेका छन्, केहीलाई एजेन्टले फेरि लगिसकेको छ,’ एक डिपोर्ट भएका युवाले भने।

मानव तस्करीको गिरोह खोज्दै प्रहरी

प्रहरीले उनीहरूसँग बयान लिएर मानव तस्करीमा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको छ। तर, डिपोर्ट भएका व्यक्तिहरू आफूहरूलाई पठाउने एजेन्टबारे खुलासा गर्न चाहँदैनन्। प्रहरीका अनुसार, उनीहरूलाई परिवारको जिम्मा लगाउने तयारी भइरहेको छ।

डोनाल्ड ट्रम्पको कडाईपछि व्यापक निष्कासन

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएलगत्तै अवैध आप्रवासीहरूमाथि कडा नीति लागु गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमण अघि मात्रै ट्रम्प प्रशासनले ११२ भारतीय नागरिकलाई डिपोर्ट गरेर भारत फर्काइदिएको थियो।

यसअघि २०७६ पुस २ मा पनि अमेरिका सरकारले अवैध रुपमा गएका पाँच नेपाली युवालाई चार्टर्ड विमानमार्फत नेपाल फर्काइदिएको थियो। तीमध्ये कतिपय भारत, रसिया, हुन्डुरस, पानामा हुँदै अमेरिकी सीमासम्म पुगेका थिए।

नेपाल सरकार तथा सरोकारवालाहरूले मानव तस्करी रोक्न तथा अवैध आप्रवासनबारे जनचेतना बढाउन आवश्यक कदम चाल्नुपर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य